चितवन । भरतपुर महानगरपालिका–२२ का किसानले सात जातका गहुँबालीको परीक्षण गरेका छन् । पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।

गहँुको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए÷नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताए । उनका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।

OM Sai Pathibhara Hospital

एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिए । उनले भने, ‘विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।’ उनका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो । 

स्थानीय दीननाथ आचार्यले गहँु लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताए । गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उनको भनाइ छ । 

उनले भने, ‘हामीले गाईभैँसीको गोबर, कुखुराको सुली र रासायनिक मलको प्रयोग गरेर प्लट बनाएका छौँ । त्यसमा कुखुराको सुली र गोबर प्रयोग गरेको ठाउँमा गुणस्तरीय उत्पादन भएको पाएका छौँ ।’

समूहका सदस्य खेमराज भण्डारीले घरायासी विषादी राखेको ठाउँमा लामो समयसम्म सत्रुजीवले आक्रमण गर्न नसक्ने पाइएको बताए । उनका अनुसार पशुचौपायको रगत, गाईको गहुँत, सुर्ती, लसुन, अदुवा, निमलगायत जडीबुटीबाट बनाइएको विषादी प्रयोग गर्दा लामो समयसम्म सत्रुजीवले आक्रमण नगर्ने पाइएको हो ।

उनले भने, ‘पशुचौपायको आधा लिटर रगतमा ४० लिटर पानी हालेर प्रयोग गरिएको र अन्य घरायासी विषादी प्रयोग गरिएको ठाउँभन्दा रासायनिक विषादी प्रयोग गरिएको ठाउँमा सत्रुजीवले चाँडो आक्रमण गरेको पायौँ ।’ 

घरायासी विषादीमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको परीक्षणका क्रममा पाइएको उनको भनाइ छ । गहुँखेती गर्ने किसानले रासायनिक विषादीको विकल्पमा घरायासी विषादीको प्रयोग गरे सस्तो हुनुका साथै गुणस्तरीय उत्पादन हुने भएकाले सोहीअनुसार मल र विषादीको प्रयोग गर्न उनले सबै किसानलाई सुझाव दिए । 

यस क्षेत्रका किसानले गौतम जातको गहँु बढी क्षेत्रफलमा लगाउने गरेका छन् । अहिले सात जातका गहुँको परीक्षणले कस्तो प्रतिफल दिन्छ हेरेर जात परिवर्तन गर्ने तयारीमा समूहका कृषक रहेका छन् । समूहकी सदस्य डम्बरकुमारी आचार्यले यस कार्यक्रमले गहुँखेतीसम्बन्धी प्राविधिक ज्ञान, सीप र मल तथा विषादीको प्रयोगबारे जानकारी दिएको बताइन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले कृषि प्रसार कार्यक्रमअन्तर्गत यस्ता योजना सञ्चालन गरिएको भन्दै यसले कृषकलाई कुन बाली कसरी लगाउँदा फाइदा हुन्छ भन्ने विषयमा ज्ञान दिएको बताए । उनले भने, ‘किसानले बाली लगाउनेदेखि भित्र्याउने समयसम्ममा देखिने समस्याहरू समाधानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।’