बरहथवा (सर्लाही) । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् ।
सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना पहिला उद्योग सुरु गरेका हुन् ।

चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएका छन् । हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनले बताए ।
‘म कक्षा १२ (प्लस टु) सकेर विदेश जाने अन्तिम तयारीमा थिए’, उनले भने, ‘वडाध्यक्षसँग सहयोग माग्न जाँदा उहाँले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा लैजानु भएपछि । मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । रहर त जाग्यो । तर, लगानी नहुँदा निकै दुःख पाएँ । उहाँले सहयोग गरेपछि आज उद्यम गरिरहेको छु ।’
बजारमा दुनाटपरीको माग धेरै भएकाले रु तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए । यसअघि रु दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेको उनले उल्लेख गरे । ‘त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने लक्ष्य छ’, उनले भने ।
नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ । यसबाट मजदुर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उनले जानकारी दिए । रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गरेको उनको अनुभव छ ।
जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताए । ‘सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन् । सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन’, उनले स्मरण गरे, ‘ऋण माग्दा बैंक तथा वित्तीय सङ्घसंस्थाहरूले दिएनन् ।’
अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेका महतोले बताए । पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीबाट लिएको रु एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो सङ्कट भोग्नु नपरेको उनले सुनाए ।
जितेन्द्रले सञ्चालन गरेको भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए ।
जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताए ।
स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताए । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ ।