काठमाडौं । ‘मिस’ अर्थात् ‘छुट्नु’ र ‘मिसिङ’ अर्थात् ‘हराउनु’ । दुवैको परिणाम करिब करिब एकै हुन्छ अर्थात् दुवै कुरा भेटिन सक्छन् अथवा नभेटिन पनि । निर्देशक दीपेन्द्र गौचन अहिले ‘मिस’ र ‘मिसिङ’ दुवैलाई एकसाथ बोकेर नेपाली फिल्म वृत्तमा आएका छन् ।

दीपेन्द्र तिनै निर्देशक हुन् जसले ३२ वर्षअघि डकुड्रामा ‘उजेली’ बनाए । ‘उजेली’ पछि उनले ‘मुमिन’को २६ भागलाई नेपाली भाषामा डब गराएर २००१ मा नेपाल टेलिभिजनमा प्रसारण गरे । यो प्रसारण भएको एक वर्षपछि दीपेन्द्र सन् २००२ मा कम्बोडिया उडे । नेपालका दुई कुरालाई ‘मिस’ गरेर कम्बोडिया उडेका दीपेन्द्र झण्डै २२ वर्षपछि ‘मिसिङ’ अर्थात् ‘मिसिङः केटी हराएको सूचना’ लिएर नेपाल फर्किए । यो फिल्म यही शुक्रबार रिलिज हुँदैछ

OM Sai Pathibhara Hospital

हालैको भेटमा दीपेन्द्र कम्बोडिया जाँदाको क्षणलाई सम्झँदै थिए । ‘एकदिन, एक वर्ष घर छोडेर निस्कँदा त घरको याद आउँछ भने मलाई त झन कति याद आयो होला । सुरुमा जाँदा नरमाइलो लाग्यो । तर उता काम हुँदै गएपछि त्यतै भुल्दै गएँ’, दीपेन्द्र भन्दैथिए, ‘आफ्नो मान्छे, साथीभाई, परिवारसँग टाढा हुँदैछ कि भन्ने डर र पीर ममा दुवै थियो । म अवश्य फर्किन्छु भन्नेमा चाहिँ ढुक्क थिएँ । किनकी अब चाहिँ फर्कनै पर्छ भन्ने एउटा समय आउँदो रहेछ । मेरो लागि ‘जेनेरेसन ग्याप’ निकै बन्यो ।’

दीपेन्द्र कम्बोडिया उड्दा नेपालका दुई कुरा अर्थात् ‘करियर’ र ‘फिल्म’ धेरै ‘मिस’ गरेको सुनाउँछन् । ‘कम्बोडिया नगई यहीँ बसेको भए मेरो करियर माथि पुग्थ्यो । किनकी मलाई एउटै फिल्म ‘उजेली’ले सबैमाझ चिन्ने बनाइसकेको थियो । यहीँ फिल्ममा लागि रहेको भए नेपाली फिल्म उद्योगमा सायद मैले एउटा राम्रै भूमिका खेल्न सक्थें कि जस्तो लाग्छ’, दीपेन्द्र भावुक हुन्छन् ।

कम्बोडिया जानुअघि दीपेन्द्रले केही फिल्मको स्क्रिप्टको काम पनि गरेका थिए । तर उता जानुपर्ने भएपछि ती काम थाँती नै राख्नुपर्यो । ‘२२ वर्षअघि मैले जुन फिल्म बनाउन भनेर तयारी गरेको थिएँ, ती फिल्म पुरा भएनन् अथवा भनौं त्यसको सुरुवात नै गर्न पाइनँ, त्यो बेलाको माहौलमा बनाउन सकेको भए धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ’, उनी खुल्छन् ।

२२ वर्षपछि नेपाली फिल्ममा कमव्याक गर्दा पनि दीपेन्द्रलाई ‘उजेली’कै जस्तो जोश जाँगर रहेछ । कम्बोडिया जानुअघि दीपेन्द्रले आफ्नै गाउँको कथा लेखेका थिए । ‘२२ वर्षअघि र अहिले गाउँ गाउँ रहेन । गाउँमा आधुनिकता पसिसकेछ, खरको स्थान टिनले लिइसकेछ । गाउँ आधुनिकतामा प्रवेश गरिसकेकाले अब कथामा परिवर्तन गर्नुपर्ने देखियो’, उनी भन्छन्, ‘अहिले विस्तारै फिल्म क्षेत्रमा छिरेको छु । सुरुवात राम्रै भएको अनुभव भइरहेको छ ।’

Dipendra (2)

दीपेन्द्र नेपालमा रहँदा उनका साथीभाई फिल्म क्षेत्रमा थिए । कम्बोडियाबाट फर्कदा उनका ती हितैषीहरु प्रायः नेपालमा छैनन् । ‘दुःखको कुरा आफ्ना साथीभाईहरु सबैले देश छोडेर गए । नेपाल फर्किएपछि पुरानो टिमसँग बसेर फिल्मको काम गर्ने सपना थियो । त्यो अब गाह्रो देखियो । किनकी कोही विदेशीए, कोही रिटायर्ड भए त कोहीले पुरानो काम छोडेर नयाँ काममा ग्राजुएट भए’, दीपेन्द्र गुनासिन्छन् । यति हुँदाहुँदै पनि उनी खुशी छन्, किनकी उनकै भनाईमा नयाँ पुस्तासँग काम गर्न पाएका छन् । 

कम्बोडियामा रहँदा दीपेन्द्र अन्य व्यावसायिक कामसँगै शिक्षणको काम पनि गर्थे । त्यही शिक्षणको कामले नै उनलाई ‘मिसिङः केटी हराएको सूचना’को कथा जुराइदियो । ‘विद्यार्थीहरुले ठूलो मान्छे हुन्छु भन्ने सपना देख्नु स्वाभाविक नै हो । मैले विद्यार्थीहरुलाई एउटा दुईजना पात्रको कथा लेख्नु भनेर काम दिएँ । उनीहरुले दुई सातामा लेखेका कथा मैले अस्वीकृत गरिदिएँ । किनकी त्यो भन्दा राम्रो कथा जन्मन्छ भन्नेमा म ढुक्क थिएँ । तर विद्यार्थीले कथा जन्माउन चाहेनन् । बरु मलाई नै राम्रो कथा लेख्न चुनौती दिए’, दीपेन्द्र सम्झन्छन् ।

विद्यार्थीको चुनौती स्वीकारेका दीपेन्द्रले एउटा कथा लेखे । त्यो कथामा सर्ट फिल्म बनाए, जुन फिल्मले फेस्टिभलमा अवार्ड नै जित्यो । नेपाल आउँदा त्यो कथा नेपाली माटो सुहाउँदो लाग्यो । 

‘नेपाल आएपछि राम्रा लेखकले लेखेका धेरै स्क्रिप्ट पढें । तर ती स्क्रिप्ट मेरो लागि सुहाउदिलो लागेन । ती कथामा मायाप्रेमबाहेक अरु केही देखिनँ । दर्शकले दशकौंदेखि हेरिरहेको त्यही कथालाई किन बोकेर हिँड्नु भन्दा ‘फ्रेस कथा’ दिन मन लाग्यो’, दीपेन्द्र भन्छन् ।

दीपेन्द्र कथा ‘फ्रेस’ देखाउन कथा यथार्थवादी हुनुपर्छ भन्ने मान्यता राख्दैनन् । उनको बुझाई यथार्थमात्र देखाउने शैली केवल डकुमेन्ट्री मात्र हो । ‘अरु पनि क्रिएटिभ एलिमेन्ट हुनुपर्छ । संसारमा यस्तो पनि हुनसक्छ है भन्ने देखाउनुपर्छ । मैले आफ्नो कथा टिममा सुनाए पछि सबैले मनपराए । सबैले अहिलेको कथा मनपराएपछि ‘मिसिङः केटी हराएको सूचना’ तयार भयो’, दीपेन्द्र सम्झन्छन् ।

अङ्ग्रेजीमा पोख्त दीपेन्द्रले अङ्ग्रेजीमै स्क्रिप्ट लेखेका थिए । त्यसलाई नेपालीकरण गरेर फाइनल गर्न झण्डै तीन महिना लाग्यो । पहाड र मधेसको पृष्ठभूमिमा लेखिएको कथा भएकाले उनका पुराना विद्यार्थी अमितेष शाहले स्क्रिप्टका केही दृश्य मैथिली भाषामा अनुवाद गरिदिए । दीपेन्द्रलाई अमितेषसँगै अमित पोखरेलले कथालाई नेपालीकरण गर्न सघाए ।

दीपेन्द्र कथाअनुसार काठमाडौंमा जन्मिएको तर कम मधेसी टोन भएको पुरुष पात्र चाहन्थे । त्यो पात्र उनले अभिनेता नाजिर हुसेनमा भेटे । पहाडी लुक्समा उनले सृष्टि श्रेष्ठ छनोट गरे । सेती वर्णकी सृष्टि कथा अनुसार पहाडी मूलकी हुन सुहाउछिन् भन्नेमा दीपेन्द्र ढुक्क भए ।

Dipendra (1)

फिल्ममा दीपेन्द्रले पहाडी केटी र तराईको केटाको सम्बन्धलाई देखाएका छन् । ‘मैले पहाड र तराईको जोडी एकदमै कम मात्र देखें । नेपाल उदारवादी भइसकेको छ । नेपालीले विदेशीसमेत विवाह गरिरहेका छन् । यति हुँदाहुँदै पनि पहाड र तराईको विवाह किन कम भइरहेको छ भन्ने कौतुहलता थियो । त्यसकारण प्रेमका लागि कुनै पनि कुरा अवरोध छैन है भन्ने सन्देश फिल्ममा दिएको छु’, उनी भन्छन् ।

दीपेन्द्र ‘मिसिङः केटी हराएको सूचना’लाई महिला केन्द्रीत फिल्म मान्छन् । ‘यो फिल्ममा मुख्य पात्र को भनेर दर्शकले छुट्याउनै सक्दैन । राम नाजिर कि सीता सृष्टि । दुवैको भूमिका बराबरी छ । त्यो बराबरीपन दिनु पनि महिलालाई प्राथमिकता दिनु हो । महिलालाई हिरोनी बनाएर कालीदेवी जस्तो अतिरिञ्जित पनि गर्नुहुँदैन । म चाहिँ नेचुरल किसिमले होस् भन्ने चाहन्छु । मेरा लागि भगवानले नाजिर र सृष्टि जुराइदिएका हुन् जस्तो लाग्छ ’, उनी भन्छन् ।

दीपेन्द्रको बुझाईमा समय र पुस्तान्तरण दुवै उनका लागि चुनौतीपूर्ण छ । ‘उजेली, मोमिन बनाउँदाको समयमा हाम्रा लागि फिल्म विशेष थियो । परिवार नै फिल्म हेर्न जाने भन्दा एउटा छुट्टै उत्साह र माहोल थियो’, उनी भन्छन्, ‘तर अहिले मोबाइल पुस्ता छ । हातमा मोबाइल र धेरै विकल्प भएर पनि उनीहरुमा हलमा फिल्म हेर्न किन जाने ? भन्ने प्रश्न छ । त्यो प्रश्न गर्ने पुस्तालाई हलमा तान्नु मलाई मात्र होइन, अन्य फिल्मकर्मीलाई पनि ठूलो चुनौती छ ।’

फिल्म रिलिजको छेकोमा दीपेन्द्रमा छुट्टै उत्साह छ । किनकी यतिबेला उनी नेपालमा छन् ।  ‘मिस भएका कुरालाई पाएको अनुभव भइरहेको छ’दीपेन्द्र मुस्कुराए, ‘मिस कुरा मैले पाएँ, मिसिङ कुरा दर्शकले पाउनुहुनेछ ।’

तस्वीरहरुः सुरेन्द्र थापा