धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१९ मा रु आठ लाख लागतमा निर्माण गरिएको लिम्बूहरुको संस्कृति झल्काउने सिलामसाक्मा र च्याबु्रङको प्रतिमा अनावरण गरिएको छ ।
माघे सङ्क्रान्तिका अवसरमा आज धरान–१९ बालक चौकमा निर्मित सिलामसाक्मा र च्याब्रुङ बाजाको प्रतीमाको किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले अनावरण गरेका हुन् । उनले सिलामसाक्माले इतिहास, भाषा लिपि संस्कृतिलाई बचाउँदै लिम्बू जातिलाई नमासिने समुदाय बनाएको बताए ।
दाताहरुबाट सङ्कलन गरिएको रु १६ लाख ८६ हजार छ सय ६५ मध्येबाट रु आठ लाख ४५ हजारमा प्रतिमा निर्माण गरिएको निर्माण समितिका कोषाध्यक्ष जायत्रा तेयुङ लिम्बूले बताए । उनले भने, ‘प्रतिमा निर्माण गर्दा सडक छेउको ढलमा स्लाब निर्माण गर्न समितिको रु दुई लाख २५ हजार खर्च भएको छ ।’
खर्च नभएको रकम धरान–१९ हरियाली सामुदायिक वनमा पनि सिलामसाक्माको प्रतिमा र थप सहयोग सङ्कलन गरी चौतारा निर्माण गर्ने योजना रहेको समितिले जनाएको छ । लिम्बू संस्कृतिमा सिलामसाक्मा मृत्युलाई छेक्ने आस्थाको प्रतीक मुन्धुमी यन्त्र मानिन्छ । बाँसको सिन्कामा सादा तथा रङ्गीन धागो बुनेर बनाइने सिलामसाक्मा चिह्न किरात याक्थुङ चुम्लुङको विधानमा संस्थाको लोगो अङ्कित छ ।
च्याब्र्रुङ लिम्बू जातिको शुभकार्यमा सामूहिक नृत्यसहित बजाइने बाजा हो । परापूर्वकालदेखि प्रायः विवाह, नयाँ गृह प्रवेशलगायत शुभकार्यको अवसरमा केलाङ नाच्ने गरिन्छ । पन्ध्र फिट अग्लो प्रतिमा फलामको सिलामसाक्मामा बाँधिएको फाइबरको च्याब्रुङ निर्माण गरिएको छ । सिलामसाक्माको चारकुनाको व्यास चार÷चार फिटको छ । च्याब्रुङको गोलाई १६ इञ्च र लम्बाइ २८ इञ्चको छ ।
निर्माण समितिका संयोजक देउमान ताप्मादेनले दाताहरुको उत्साहपूर्ण सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै प्रतिमाको स्थापनाले लिम्बू संस्कृतिको इतिहासलाई स्थापित गरेको बताए ।