- भक्त खपाङ्गी

पुस २७ गते नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मदिन । पछि ‘श्री ५ बडामहाराजाधिराज’ उपाधिले विभूषित यिनको यिनी जन्मनुभन्दा मोटामोटी डेडसय वर्षअघि विसं १६१६मा लमजुङका राजकुमार द्रव्य शाहले स्थापना गरेको एउटा सानो, विपन्न पहाडी राज्य गोरखाको राजदरबारमा विसं १७७९ पुस २७ गते (७ जनवरी १७२३) भएको थियोे । यिनका बुवा राजा नरभूपाल शाहका चार वटी विवाहित रानीहरूमध्ये माहिली रानी पाल्पाली राजकुमारी कौशल्यावतीको गर्भबाट सात महिनामै जन्मेका उनको लालनपालन भने चन्द्रप्रभावती (खाँचीकी राजकुमारी) बाट भएको थियो । यिनको व्यक्तित्व र चरित्र निर्माणमा यिनै महारानीको ठुलो भूमिका रहेको थियो । यी महारानी महाराजपछिको दोस्रो स्थानको ‘चौतारा’ पदमा बहाल थिइन् । यिनी अत्यन्त प्रतिभासम्पन्न नारी थिइन् । दलमर्दन शाह पृथ्वीनारायणका सहोदर भाइ थिए । साँहिली रानी बुद्धिमती (पर्वत)बाट सुरप्रताप र कान्छी रानी सुभद्रावती (तनहुँ)बाट महोद्दामकीर्ति र दलजित शाहको जन्म भएको थियोे । आफूसहितका पाँच भाइलाई उनले दिव्यउपदेशमा ‘पाँचपाण्डव’ भनेका छन् । आफ्ना बुवामहाराजको मृत्युपछि बीस वर्षकै कलिलो उमेरमा गोरखा राज्यको राजा भएका (२५चैत, १७९९) उनले युवराज हुँदैको अवस्थामा नेपाल खाल्डो (काठमाडौँ उपत्यका)का समृद्ध राज्यहरू भक्तपुर, कान्तिपुर र ललितपुर (पाटन)को गहिरो अध्ययन गरिसकेका थिए । १६ वर्षकै उमेरमा (विसं १७९५) मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसित बिहे भएको तर बेहुली नलिई फर्किनुपरेको अवस्थामा उनले चन्द्रागिरिको डाँडाबाट पहिलोपटक काठमाडौँ उपत्यकाका राज्यहरू देखिसकेका थिए । त्यतिखेरै उनी ती राज्यहरूको राजा हुन लालायित भएका थिए । पहिलो विवाह सफल हुन नसकेपछि गोरखपुरकी कन्या नरेन्द्रलक्ष्मीसित उनको दोस्रो विवाह भएकोे थियो ।

OM Sai Pathibhara Hospital

देशनिर्माणको महान् योजना बोकेका उनी दाम्पत्यजीवनको सुखभोगमा अल्मलिन चाहेनन् । आफ्ना बुवाको प्रतिनिधित्व गर्दै उनी तुरुन्तै भक्तपुर राज्यमा गए (सन् १७४१) । त्यहाँका राजा रणजित मल्लका एक छोरा वीरनरसिंहसित मीत लगाएर उनी त्यहीँ बसे । त्यतिखेरै उनले तीनवटै राज्यको गहिरो अध्ययन गरे । बुवाको मृत्युपछि वि सं १७९९ मा आफू राजा हुनेबित्तिकैदेखि राज्यको एकीकरण अभियानमा जुटिहाले । बुवा नरभूपाल शाहले आफ्नो जीवनको अन्त्यकालतिर गरेको युद्धमा हार खानुपरेको कान्तिपुरको एउटा प्रदेश नुवाकोटमाथि उनले राजा हुनेबित्तिकै आक्रमण गरिहाले तर सफल भएनन् । दोस्रो पटक आक्रमणगरी १५ असोज १८०१मा नुवाकोट जित्न सफल भए । उपत्यकाका तीनवटै मल्लराज्यहरूलाई जित्न भने उनलाई सजिलो थिएन ।

त्यसबखत अहिलेको नेपाल पचास वटाभन्दा बढी राज्यहरूमा विभक्त थियोे । पश्चिमका बाइसी र चौबिसी राज्य, उपत्यकाका तीन राज्य, मकवानपुर र त्यससित सम्बन्धित पूर्वका चौदण्डी, विजयपुरलगायतका राज्यहरू थिए । लगभग मध्यभागतिर अवस्थित सानो पहाडी राज्य गोरखाले यी सबैसँग लड्नु थियो । यीमध्ये थुप्रै राज्यहरू आफूभन्दा धेरै शक्तिशाली, सम्पन्न, समृद्ध र सङ्गठित थिए । पृथ्वीनारायण शाह यस्तो परिस्थितिसित पूर्ण जानकार थिए । यो महान् आकाङ्क्षा ’फत्य’ गर्न आफ्ना मामा पाल्पाली राजकुमार (युवराज) उद्योत सेनको सल्लाहलाई उनले मार्गदर्शक सिद्धान्त बनाए । दिव्यउपदेशमा उनले यस सल्लाहलाई ठुलो महत्त्व दिएका छन् । त्यसपछि उनी व्यापक तयारीमा जुटे । आफ्नो दोस्रो ससुराली जाने निहु पारी गोरखपुरतिरबाट बन्दुक, गोलाबारुद किनेर ल्याए । साथसाथै जान्ने मुसलमान कालिगडहरू पनि लिएर आए । गोप्य रूपमा हातहतियार, गोलाबारुदलगायतका युद्धसामग्रीहरू निर्माण गराए । काठमाडौँ उपत्यकालाई उनले पहिलो निसाना बनाए । नुवाकोट लगायत थुप्रै ससाना ठाउँहरू जित्दै कालू पाँडेको नेतृत्वमा कीर्तिपुरमाथि पहिलोपटक आक्रमण गरे, तर त्यहाँ नराम्रो हार भयो । वीर योद्धा कालू पाँडे मारिए । यो वर्ष अत्यन्त महत्त्वपूर्ण किन पनि छ भने यो युद्ध भएको लगभग महिना दिनपछि उत्तरी भारतको पलासी भन्ने ठाउँमा भारतमा पहिल्यै प्रवेश गरिसकेको अङ्ग्रेजको इस्ट इन्डिया कम्पनीले पृथ्वीनारायणकै समवयी रोबर्ट क्लाइब नामका एक बहादुर युवकको नेतृत्वमा विजय हासिल गर्दै भारतमा अङ्ग्रेजले बलियो जग हालेको थियोे । पछि त्यही जगमा उसले विशाल साम्राज्यको विस्तार गर्न सफलता हासिल गरेको थियो । नेपाल सङ्गठित र बलियो राष्ट्र हुन नसके एकएक गर्दै उसको पन्जाभित्र पर्दैजाने खतराप्रति पृथ्वीनारायण शाह सचेत थिए । यसैबाट प्रेरित भएर उनी आफ्नो अभियानमा दृढतापूर्वक लागिरहे । कीर्तिपुरमाथि १६ सेप्टेम्बर १७६४ (वि सं १८२१) मा गरेको दोस्रो युद्धमा पनि गोर्खाली सेनाले हार नै ब्यहोर्नुपर्याे । ३ चैत १८२२ (अक्टोबर १७६५)मा भएको तेस्रो युद्धमा भने गोर्खालीको जित भएरै छाड्यो । त्यसपछि १३ असोज १८२५ (२५ सेप्टेम्बर १७६८) का दिन काठमाडौँ जित्न पृथ्वीनारायण शाह पूर्ण सफल भए । यो सफलता पाउन उनलाई २६ वर्ष लाग्यो । २४ असोज १८२५ मा ललितपुर र २८कात्तिक १८२६ मा भक्तपुर भने सजिलै हात लागे । यति लामो अवधिमा यसअघि नै गोर्खालीहरूले साँखु, चाँगु, नाल्दुम, महादेवपोखरी, लामिडाँडा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक , दोलखा जितिसकेका थिए । यसैले गर्दा उपत्यकामाथि लगाइएको नाकाबन्दी सफल भएको थियो । यसबीचमा गोर्खाली सेनाले मिरकासिमको आक्रमण (१० माघ १८१९) र अङ्ग्रेज क्याप्टेन किनलक नेतृत्वको आक्रमण (असोज १८२४) सफलतापूर्वक सामना गरिसकेको थियो ।

 त्यसपछि उनी पश्चिमी अभियानमा लागे । त्यसमा कुनै सफलता हात लागेन । प्रारम्भमा तनहुँ, लमजुङ , कास्की, सतहुँ, पर्वत,रिसिङ, घिरिङ, ढोर, स्याङ्जा, गरहुँ, पैँयु राज्यहरू हात लागे पनि तुरुन्तै तिनीहरू स्वतन्त्र भए । बख्सी केहरसिंह बस्नेतसहित ५०० जति सैनिकले ज्यानै गुमाउनु पर्याे । वीर योद्धा वंशराज पाँडे लामो समय कैदमा रहनुपर्याे । ५ पुस १८२८मा भएकोे भीषण युद्धमा पराजय भएपछि गोर्खालीले पश्चिमी अभियान स्थगन गरे । हिजोआज पृथ्वीनारायण शाहका कट्टर समर्थकहरूले भन्ने गरेको “पृथ्वीनारायण शाहले बाइसी चौबिसी राज्यहरूलाई जितेर नेपाल एकीकरण गरे” भनाइ इतिहाससम्मत र सत्य देखिँदैन ।

 उनको पूर्वी अभियान भने पूर्णतः सफल रह्यो । अभिमानसिंह बस्नेत, रामकृष्ण कुँवर, अमरसिंह थापा (बडा) नेतृत्वमा गएको फौजले सहज जित हासिल गर्याे । सिक्किमको कब्जामा परिसकेको इलाम क्षेत्र बिनायुद्ध गोर्खालीको अधीनमा आयो । नेपालको पूर्वी सिमाना टिस्टा नदीसम्म पुग्यो । यसै बखत १ माघ १८३१÷११जनवरी १७७५ का दिन ५२ वर्षको अल्पायुमै पृथ्वीनारायण शाहको दुःखद निधन भयो । उनको निधन सम्पूर्ण नेपालीका लागि दुर्भाग्य साबित भयो । उनको विजय अभियानले अझ केही समय निरन्तरता पाएको भए हाम्रो मुलुक अहिले भूपरिवेष्ठित देश बन्नुपर्ने थिएन ।

 आफ्नो छोटो जीवनकालमा नेपालराष्ट्रको हितमा गरेको महान् कार्यका लागि पृथ्वीनारायण शाहप्रति कृतज्ञ हुनुको सट्टा उनलाई गाली गर्ने, सराप्ने, उनको तस्बिरमा थुक्ने, उनको सालिक तोड्ने बैगुनी नेपालीहरू अचेल थुप्रै देखिन थालेका छन् । उनको सुकार्यलाई ‘गोर्खा राज्यको विस्तार’ , ‘खुनी हमला’ ,‘सामन्ती निरङ्कुशता’ आदि आरोप लगाइन्छ । यस्ता आरोप लगाउनेहरूले नेपालका साथै भारत, युरोप , अमेरिका, विश्वको प्राचीन, मध्यकालीन, आधुनिक इतिहासका आधिकारिक किताबहरू पढे राम्रो हुने थियोे । डलर खुवाएर लेखाइएका भ्रामक इतिहासका ‘बुक’हरूले धेरैलाई दिग्भ्रमित बनाइदिएका छन् । त्यो क्रम जारी छ ।

 आन्तरिक र बाह्य आक्रमणहरू कति घातक हुन्छन् भन्ने बुझ्न काठमाडौँ उपत्यकाकै इतिहास मात्र सरसर्ती हेरे पनि हुन्छ । त्यहाँका बासिन्दाले झेल्नुपरेका सिन्जाका खस राजा जितारी मल्लको दुई पटकको आक्रमण (वि सं १३४४ पुस र १३४५ फागुन), खस राजा रिपु मल्लको आक्रमण (वि सं १३४६), तिरहुतका सेनाको आक्रमण (वि स ं१३४७, १३५६ पुस, १३६७ माघ, १३६८ कात्तिक), खस राजा आदित्य मल्लको आक्रमण (१३८४,फागुन) कति भयावह थिए ! यीमध्ये कतिपयले लुटपाट मात्र गर्थे भने कतिले चैँ आगजनीसमेत गर्थे । कतिपयले भने पशुपतिनाथलगायतका मन्दिरहरूमा पूजापाठ गर्ने, आकर्षक भेटी चढाउनेसमेत गर्थे । तर, बाह्य आक्रमणहरू भने अत्यन्तै क्रूर र पीडादायी हुन्थे । वि सं १४०६ मंसिरमा भएको बङ्गालको सुलतान समसुद्दिन इलियसको आक्रमण नृशंस र क्रूरताको हद थियोे । उसले लुटपाट गर्ने , आगो लगाउने दुष्कर्म मात्र गरेन हाम्रा आस्थाका केन्द्रहरूमा गई भगवानका मूर्तिहरू तोडफोड गरेको थियो । कयौं महिला बलात्कृत भएका थिए ।

 छिमेकी देश भारतले त झन् शदियौँसम्म सातसमुद्रपारिबाट आएका विदेशीहरूको शासन, दमन, अत्याचार खप्नुपरेको थियो । मुस्लिम र अङ्ग्रेज शासकहरूको कठोर शासन दीर्घकालसम्म खप्नुपरेको थियोे । उनीहरूले उत्तरबाट आएका हूणहरूको जघन्य र क्रूर हमलाको पनि सामना गर्नुपरेको थियो । युरोपका विभिन्न राज्यहरूले व्यापारका नाममा शोषण त गरे नै इङ्ग्ल्यान्डका अङ्ग्रेजहरूले त दुईसय वर्षसम्म दमनकारी शासन नै गरेका थिए । नादिर शाहले गरेको नरसंहार र लुट (सन् १७३९), जालियाँवाला बागको सामूहिक हत्याकाण्ड (१३ अप्रिल १९१९) भारतीयहरूले कहिल्यै बिर्सन सक्लान् र? सन् १९४७ देखिमात्र उनीहरूले आफ्नो देशको शासनसत्ता सम्हाल्न पाएका हुन् ।

 आफूहरू अत्यन्तै कमजोर भएकाले अमेरिकाका आदिवासीहरूले त आफ्नो महादेश नै युरोपेलीहरूलाई सदाका लागि सुम्पिनुपर्याे । चतुर युरोपेलीहरूले अफ्रिका महादेशभरि नै ताण्डव देखाए । त्यहाँका अकुत सम्पदा सयौँ वर्ष ओसारिरहे । त्यहाँका जनतालाई दास बनाएर पशुवत् व्यवहार गरिरहे । लुटिएका सम्पत्ति त्यहीँका बलियाबाङ्गा युवाहरूलाई बोकाएर त लगे नै तिनलाई घर फिर्ता आउन पनि दिइएन । उतै दास बनाएर राखिए । घाँटीमा फलामका साङ्लाले बाँधेर ती दासहरूलाई पशुझैँ बेचबिखन गरिन्थ्यो ।

 हाम्रा पृथ्वीनारायण शाहले त्यस्तो अमानवीय व्यवहार कहीँ कतै गरे ? कसैलाई दास बनाए? लुटपाट, बलात्कार, हिंसा , तोडफोड गरे ? कतिपयले ’कीर्तिपुरेहरूको नाक काटेको घटना’ अतिरञ्जित गरेर प्रस्तुत गर्छन् । टुक्राटुक्रामा विभाजित नेपालका सानाठुला राज्यहरूलाई अङ्ग्रेजी सत्तामुनि पु¥याउने कुत्सित उद्देश्य बोकेर आएका कथित धर्मप्रचारकहरूलाई उपत्यका जित्नेबित्तिकै पृथ्वीनारायण शाहले देशनिकाला गरिदिएका थिए । त्यसको बदलास्वरूप तिनीहरूले नै लेखेका कथित ‘नेपालको इतिहास’मा अतिरञ्जनापूर्वक वर्णन गरियो । त्यसै आधारमा उनीमाथि यस्ता आरोप लगाइएका हुन् । नेपाली भाषालाई माध्यम भाषा बनाई, अनादिकालदेखि बसोबास गरिआएका सम्पूर्ण बासिन्दाहरूलाई एक सूत्रमा बाँध्दै साझा ‘नेपाली’ नाम दिनु उनको अपराध हो? ‘नेपाल’ नाम गोर्खाली भाषाबाट ल्याइएको हो ?

 इतिहास शिरोमणि बाबुराम आचार्यको भनाइ यहाँ सान्दर्भिक होला – “युद्धकालमा अन्य देश वा जातिका मूल्य, मान्यता तथा भावनाहरूमा कुनै पनि किसिमले आघात नपार्ने, हातहतियार लिएर अघि नसर्ने कृषक, शिल्पकार तथा अन्य सर्वसाधारण जनतालाई कुनै किसिमले हानिनोक्सानी नपु¥याउने र आफ्ना विपक्षीहरू नै भए पनि उनका जाहानपरिवारहरूको जिउधनको सुरक्षा गरिदिने जस्ता यिनले आजीवन अपनाएका अनुकरणीय एवं आदर्श नीतिहरू नै यिनका एकीकरण अभियानका सफलताका परिचायक भएर रहेका छन् ।”

 अन्त्यमा, महान् विभूति श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । जय नेपाल !

– साभार : ‘स्वतन्त्र आवाज’ साप्ताहिक