देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मा प्रहरीको हो । प्रहरी अधिकारी सानो यूनिटदेखि केन्द्रीय कार्यालयसम्म आआफ्नो जिम्मेवारीमा खटिएका छन् । दृश्य वा अदृश्य काम पनि भइरहेका होलान् । कुनै गुनासो लिएर गए प्रहरीमा उजुरी दिनुहोस् तपाईंको काम भइहाल्छ भन्ने आश्वासन कति पूरा हुन्छन् भन्ने समस्या लिएर चौकी गएकालाई सोधे थाहा भइहाल्छ । 

तर प्रहरी परिचालन नहुने भने होइन् । कुनै पदमा आसिन व्यक्तिको भ्रमण वा सानो सवारी नै भयो भने पनि ४/५ मिटरको दूरीमा जनपथ तथा सशस्त्र प्रहरी खटाइन्छ । उनीहरूले सवारी साधनलाई यसरी गुडाउने भन्नेसम्मा टिप्स दिँन्छन् । यो देशको राजधानी शहर काठमाडौंको कुरा हो । यही काठमाडौं अनि देशका विभिन्न ठाउँमा सार्वजनिक सवारीले प्रहरीबाट कसरी र कति पीडा भोग्छन् भन्ने तपाईंले महसुस गर्नु भएको छैन होला । 

OM Sai Pathibhara Hospital

यदी तपाईंलाई प्रहरीले सेटिङ नमिलाएका ठाउँमा सवारी साधनका चालक वा सहचालक अथवा कन्ट्याक्टरबाट कसरी पैसा लिन्छन् भन्ने जान्न चाहानुहुन्छ भने यात्रा गर्दा चनाखो भएर बसेमात्र पनि पुग्छ ।

यो आलेख तपाईंले पढ्दा तपाईंलाई लाग्ला कुनै प्रहरी अधिकारी लक्षित आयो तर होइन् । यो तपाईं हामीले देखेको अनि सवारी साधनका कर्मचारीले भोगेको समस्या हो । 

लामो दूरीको सार्वजनिक सवारीलाई प्रहरीले धेरै ठाउँमा चेकजाँच गर्ने गरेको छ। यो चेक जाँचमा प्रहरीले सवारी साधनका कर्मचारीबाट राम्ररी पैसा लिने गरेको छ । त्यो पनि लुकाएर । गाडी रोक्न इसारा गर्दै प्रहरीका अधिकारी सवारी नजिक आउँछन् । कहाँबाट कटा हिँडेको भन्ने सोधपुछ हुन्छ । यत्तिकैमा सवारीका कर्मचारीले सवारी साधनमा भएको सामग्रीको विवरण भन्छन् । प्रहरी अधिकारी गाडीको पछाडि जान खोज्छन् यहीँ सवारी कर्मचारीले हातमा पट्याएर राखेको पैसा थमाउँछन् । अनि सकिन्छ केरकार । चेकजाँच । गाडी निर्वाध रुपमा अगाडी बढ्छ ।

सवारीका कर्मचारीले एक ठाउँमामात्र यसो गरेर धर पाउँदैछनन् । चेक पोस्ट नै पिच्छे उनीहरूले दाखेला गर्नुपर्छ रकम । अनि बेलैमा पट्याएर राख्छन् । दिन्छन् । उनीहरूलाई किन घुस खुवाएको भनेर सोध्दा भन्छन्—'यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउनुपर्छ । नत्र यात्रुको गुनासोमात्र होइन अर्को पटक यो गाडी मै चढ्दैनौँ भन्छन्। अनि लामो समयको केरकारको साटो २/५ सय हातमा थमाइदियो ढुक्क ।

व्यवसायीले यसरी बाटोमा दिएरमात्र पनि पुग्दो रहेनछ । नाका तथा चेक हुने मुख्य ठाउँमा मासिक भत्ता नै जस्तो बुझाउनु पर्ने रहेछ । नबुझाएर अटेर गर्नेलाई अनावश्यक दु:ख दिने गरेका कारण सार्वजनिक सवारीका रुपमा गुड्ने जुनसुकै सवारीले पनि प्रहरीलाई मासिक भत्ता र खोजीमा पट्याएको सयको नोट बुझाउने गरेको पाइएको छ।

यो स्तम्भकारले महेन्द्र राजमार्ग हुँदै यात्रा गर्दा सप्तकोशी व्यारेज छेउमा झापाबाट काठमाडौं आउँदै गरेको रात्रिकालीन बसलाई राजमार्गको सप्तरी खण्डमा रोकियो । जनपथ प्रहरीका एक अधिकारी आए । बसमा के छ भनेर सोधे । बसका कन्ट्याक्टरले सबै यात्रुका सामान छन् भने । चेक गरौँ भन्दै बसको नजिक आए । यता कन्ट्याक्टरले हात मिलाएर । हात मिलाउँदा साटियो सयको नोट । बिना जाँच अघि बढ्यो गाडी ।

त्यसको केही दूरीमा फेरि सशस्त्र प्रहरीका अधिकारी आए जनपथ भन्दा केही कडा मिजासमा उनले पनि गाडीबारे सोधे । फेरि सवारीका कर्मचारीले केही छैन भन्दै हात मिलाएर र अघि बढ्यो गाडी ।

यो एक गाडीको मात्र कहानी भने होइन् । सबै गाडीमा यस्तै हुने गरेको रहेछ । अनि हामी भाडा धेर लियो । बसले भनेको सेवा दिएन भनेर गुनासा गर्छौं । नियामक निकायले नै यसरी हात थाप्दै मागिखाने भाँडो बनाएपछि गाडी व्यवसायीले टाल्ने कता कता ?

यसरी उचित रुपमा चेकजाँच नहुँदा हुने दुर्घटनाको जिम्मा कसले लिने ? एक पटक नेतृत्व तहमा रहेका प्रहरी अधिकारी, प्रहरी संगठनको नेतृत्व गरिरहेका गृहमन्त्री तथा अरु सरोकारवालाले यस्ता विषयमा निर्मम भएर चेकजाँच गर्ने कि ??

होइन भने सय रुपैयाँमा प्रहरी अधिकारी बिक्दा भएको दुर्घटनाको जिम्मेवारी सरकारले लिनपर्छ । अदृश्य रुपमा देखिएका यस्ता गतिविधि निस्तेज पार्न सबै जुट्न आवश्यक छ ।