काठमाण्डौ ।  बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११:३६ मिनेटमा रहेको छ।

घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत भोलि बिहान ८:३३ मिनेटमा रहेको टिकाको उत्तम साइत भने ११:३६ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

OM Sai Pathibhara Hospital

दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन्। यस पर्वका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति रहन्छ। शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको पनि बाक्लो उपस्थिति रहन्छ।

मान्यजनबाट टीका थाप्ने क्रम कोजाग्रत पूर्णिमासम्म चल्नेछ। दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको वध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टिका लगाउने चलन पनि छ।

ठूला वा मान्यजनको हातबाट टिका जमरा लगाएर दशैंमा आशिर्वाद थाप्ने गरिन्छ । टिका लगाउदाँ टिका लगाइदिने व्यक्ति पश्चिम र टिका लगाउने व्यक्ति पूर्व फर्कनुपर्ने धार्मिक मान्यता रहेको छ। विजया दशमीको दिन टिकाको साइत गरेसंगै देविको प्रसादको रुपमा कोजाग्रत पूर्णिमासम्म टिका र जमरा लगाउने प्रचलन रहेको छ।

केही स्थानमा भने विजया दशमीको दिनमा मात्र टिका र जमरा लगाउने गरिन्छ । यस बर्ष असोज १७ गते घटस्थापनाको दिन बिहान ९:१६ मिनेटमा घटस्थापनाको साइत गरेर सुरु भएको दशैं कार्तिक १ गते पूर्णिमाको दिनबाट सम्पन्न हुने छ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ:

आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे । 
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी  ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ। नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ। अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ।