काठमाण्डौ ।  विजयादशमी अन्तरगत नवरात्रीको आठौ दिन अर्थात् महाष्टमी पर्व, आज दुर्गा भगवतीको आठौँ स्वरूप महागौरी देवीको पूजा आराधना गरि मनाइँदै छ।

महागौरी शिवकी शक्ति हुन् । यिनी गोरो वर्णकी र शान्त स्वरूपकी छिन् ।महागौरीलाई शाम्भवी पनि भन्ने गरिन्छ । साँढेमा बसेकी यिनले एक हातमा त्रिशूल र अर्को हातमा डमरु लिएकी छिन् । एक हातले अभय र अर्को हातले शान्त मुद्रा प्रदर्शन गरेकी छिन् ।

OM Sai Pathibhara Hospital

नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ।

अष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधिअनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुंगाहरुलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैदिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाउँमा आज विधिपूर्वक पूजा अर्चना गरिने भएकाले आजको दिन शक्तिपीठ, दशैंघर अनि मन्दिरमा विशेष घुइँचो रहन्छ । आज मध्यरात अर्थात् नवमीको सुरुवातमा देवीहरुको विशेष पूजा अनुष्ठान गरिन्छ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ । महागौरीलाई वैज्ञानिक दृष्टिले प्रकाश शक्तिको स्वरूप मानिन्छ ।

बडादसैँको महाअष्टमी र नवमी आज एकैदिन परेको छ। विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गर्नुपर्ने हुन्छ।

नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ। मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ।

महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ। महाअष्टमीका दिन राति हनुमानढोकाको दसैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्री पूजा गरिन्छ।