काठमाडौं—हनुमानढोका दरबार क्षेत्र कालभैरवको मूर्ति अगाडि लिंगो ठड्याएसँगै सुरु भएको इन्द्रजात्रा पर्व शनिबार सम्पन्न भएको छ । परम्पराअनुसार शनिबार इन्द्रजात्राको अन्तिम दिन नानीचा: या: (महिलाहरुले रथ ताने) तानेका छन् । महिलाले गणेश, भैरव र कुमारीको रथ तानेर इन्द्रजात्रा मनाए । जात्रामा नेवार समुदायको बाक्लो उपस्थिति थियो । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।
कुमारी पूजाको समयमा कुमारीको दायाँबायाँ जीवित गणेश र भैरव राखिन्छ । सप्ताहव्यापी रूपमा गरिने पूजाविधि फरक फरक हुन्छ । भाद्र शुक्ल एकादशीको दिन निमन्त्रणा पुजा हुन्छ । यो दिन बिहान कुमारी, गणेश र भैरवमा सप्ताहव्यापी कार्यक्रमका लागि सरकारले निम्ता चढाउने परम्परा छ । पञ्चबुद्धको मूलपूरोहितले बौद्ध धर्म विधिअनुसार कुमारीलाई सगुन, शृंगार सामान र पोशाक चढाउँछन् । जीवित देवता गणेश र भैरवलाई पनि यही दिन निमन्त्रणा चढाउने परम्परा छ । कुमारी घरमा जीवित देवी कुमारी बस्दै आएकी छन् भने राखिएको छ भने गणेश र भैरवचाहिं आफ्नै घरमा बस्दै आएका छन् ।
सप्ताहव्यापी कार्यक्रमको समापनको दिनमा हुने रथयात्रा हो नानिचा । प्याफल, नरदेवी, किलागल, भेडासीं, इन्द्रचोक, मखन हुँदै वसन्तपुरस्थित गद्दी बैठकअगाडि रथ विसर्जन हुन्छ । यही दिन वसन्तपुरमा ठड्याइएको यः सिं पनि ढालिन्छ र विधिवत् रूपमा इन्द्रजात्रा सम्पन्न हुन्छ ।