काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंवासीलाई चाँडै खानेपानीको समस्याबाट मुक्त गर्ने बताएका छन् । 

आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

मन्त्री यादवले भक्तपुरको महादेवा खोला, ठोस्ने खोला, सिस्ने खोलाको पानी काठमाडौं उपत्यकामा वितरण गर्न सम्भाव्यता अध्ययन सम्पन्न भइ डिपिआर अन्तिम चरणमा रहेको बताए । 

यि आयोजनाहरु सम्पन्न भएपछि काठमाडौं उपत्यकामा थप खानेपानीको सुविधा उपलब्ध हुने उनको विश्वास छ । 

मन्त्री यादवले तारकेश्वरमा पनि पाँच ठाउँमा पानीका मुहानहरु रहेको र त्यहाँबाट १४ देखि १५ करोड लिटर पानी लिन सकिने भन्दै २५ देखि ३० करोड खर्च गर्ने हो भने तत्काल त्यहाँको पानी ल्याउन सम्भाव रहेको जिकिर गरे । 

उनले भने, ‘ तारकेश्वरमा पनि पाँच ठाउँमा त्यस्तो मुहानहरु छन्, जहाँ सिधै २५ देखि ३० करोड खर्च गर्ने हो भने त्यसमा हामी कमसेकम १४ देखि १५ करोड लिटर पानी पाउँछौँ । त्यसमा पनि काम गरिरहेका छौँ । केही कानूनी जटिलता छ, त्यसलाई हटाएर हामी पानी प्रयोग गर्नेछौँ ।’

मन्त्री यादवले हाल ६ दिनमा एक दिन काठमाडौंवासीलाई पानी दिने गरेको समेत बताएका छन् ।