कविता:
"रगतले लेखिएको क्रान्ति"
-देवेन्द्र किशोर ढुङगाना
अत्याचारको रात
जति नै लामो
किन नहोस्,
बिहानीको वाचा
एक दिन अवश्य
पूरा हुनेछ।
हिजो जसका हातमा हथकडी थियो,
भोलि तिनै हातमा
झण्डा हुनेछ।
हामी ती दीप हौँ,
जो आँधीमा पनि बलिरहन्छन्,
हामी ती आवाज हौँ,
जो पर्खालसँग
ठोक्किए पनि गुञ्जिरहन्छन्।
जब राजनीतिले
रगतको सौदा गर्यो,
हामीले घृणाको बजारमा आगो लगायौँ।
१. प्रश्न
किन भोकाको रोटीमा
कर लाग्छ?
किन मजदुरको
पसिनाको उचित
मूल्य हुँदैन?
किन महलको जग गरिबको रगतले बसालिन्छ,
तर इतिहासमा राजाहरूको मात्रै
किन नाम लेखिन्छ?
जब हामी उत्तर माग्छौँ, देशद्रोही कहलिन्छौँ।
जब हामी
अधिकार माग्छौँ,
गद्दार ठहरिन्छौँ।
तर सम्झिराख,
हे शासकहरू,
श्मशानको मौनताले पनि एक दिन चिच्याउँछ।
२. घोषणा
उठ! कलमलाई
तरबार बनाऊ,
किताबलाई ढाल बनाऊ।
विद्यालयको घण्टीलाई क्रान्तिको नगारा सम्झ,
र हरेक पाठलाई
नारा बनाऊ।
न जेलको डर छ,
न गोलीको भय छ ।
जो डरायो, ऊ हार्यो,
जो लड्यो, ऊ अमर रह्यो।
हाम्रा पुस्ताको नाममा थोपारिएको ऋणको,
अब हिसाब चोक–चोकमा हुनेछ।
३. वाचा
हामी ती बीउ हौँ,
जो ढुङ्गामै पनि उम्रिन्छन्।
हामी ती नदी हौँ,
जसले आफ्नै बाटो
आफैँ बनाउँछन्।
तिमीहरूले धर्म, जात र भाषाको नाममा
कथित विभाजन गर्यौ,
हामीले प्रेमलाई नै
आफ्नो धर्म बनायौँ।
जब आमाको काख आँसुले भरिन्छ,
र बालकको हातमा भिखको कटोरा हुन्छ,
त्यतिबेला बुझ,
क्रान्ति टाढा छैन,
अब एउटा झिल्को
मात्र चाहिन्छ।
४. अन्तिम सन्देश
इतिहास साक्षी छ—सिंहासनहरू ढल्छन्,
तर जनताको साहस कहिल्यै ढल्दैन।
तिमी आफ्ना गोलीहरू गनेर बस,
हामी आफ्ना शहीदहरू गनेर पनि अघि बढ्नेछौँ।
र जुन दिन
यी सीमाहरू ढल्नेछन्,
त्यो दिन मानिसले मानिसलाई
अँगालो हाल्नेछ।
न कोही हिन्दू,
न कोही मुसलमान,
फगत मानिस हुनेछ,
र मानवता हुनेछ।
आऊ, अब यी जञ्जीरहरू तोडौँ।
आऊ, मौनता पनि तोडौँ।
किनकि अब जाग्ने समय आएको छ,
किनकि अब परिवर्तनको समय आएको छ।
"अत्याचार अन्त्य हुनेछ, न्यायको विजय हुनेछ,
र रगतले लेखिएको इतिहासमा
हाम्रो पनि नामहुनेछ।"
(कवि नेपाली साहित्य परिषद झापाका अध्यक्ष हुन )





























