काठमाडौं–ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । माओवादी केन्द्र निकट पाण्डेले कांग्रेस–एमाले निकट गठबन्धनका उम्मेदवार राजेन्द्र सापकोटालाई हराएका हुन् ।

उनले ४६औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरेका छन् । पाण्डे, जो हिमालयन ग्लासियर ट्रेकिङ कम्पनीका संस्थापक हुन्, विगत तीन दशकदेखि पर्वतीय पर्यटनमा सक्रिय छन् ।

OM Sai Pathibhara Hospital

वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, र महासचिवमा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । सचिवमा रिञ्जीजाङबु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले, र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।

महिला सदस्यमा पवित्रा तामाङ, र खुला सदस्यमा अम्बिरबहादुर गुरुङ, विनोदकुमार तामाङ, होमबहादुर विश्वकर्मा, फुर्पुछिरिङ ल्होमी, विकास गुरुङ, सागर राई, छाप्ते लामा, र राजु गुरुङ विजयी भएका छन् ।

नवनिर्वाचित अध्यक्ष पाण्डेले ‘टान बृहद् अक्षयकोष’ निर्माण, भ्याट छुटका लागि पहल, ट्रेकिङ कम्पनीमार्फत मात्र पदयात्रा सुनिश्चित गर्ने, र टिम्स व्यवस्थापनमा प्राथमिकता दिने योजना घोषणा गरेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टानमा निर्वाचित सबैलाई बधाई दिँदै‚ ‘बिहानै खुशी को खबर बाँड्ने अवसर मिल्यो, अध्यक्ष सागर पाण्डेलगायत टानमा निर्वाचित सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ भनेका छन् ।