काठमाडौं–बाँकेको नरैनापुर गाउँपालिका–३ गेग्ली गाउँमा अज्ञात रोगका कारण एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ । नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहका अनुसार‚ ७५ वर्षीय शान्ति पासी‚ २६ वर्षीया उषा पासी‚ र एक वर्षीया बालिकाको भदौ १४‚ १५‚ र १६ गते मृत्यु भएको हो ।

उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्ने तथा ज्वरो आएको थियो‚ जसको उपचार भारतको नजिकैको क्लिनिकमा भर्ना गरिएको थियो । उषाको मृत्यु भएको भोलिपल्ट नै शान्ति पासीको पनि उस्तै लक्षणका कारण मृत्यु भयो । १६ गते सोही गाउँका १२ वर्षीय सुफियान अलि सेखको पनि उस्तै लक्षणले ज्यान गएको हो । 

OM Sai Pathibhara Hospital

घटनाबारे जानकारी पाउनेबित्तिकै स्वास्थ्यकर्मीको टोलीले गाउँमा पुगेर उपचार सुरु गरेको छ । अहिलेसम्म ४० जनाको स्वास्थ्य परीक्षण भएको र सात जनाको अवस्था विस्तारै सुधारिएको वडाध्यक्ष अजय मिश्रले बताएका छन् । घटनाको अनुगमनपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्वास्थ्य चौकीमा औषधिको अभाव हुन नदिन निर्देशन दिएका छन् ।