काठमाडौं–अष्ट्रेलियामा कार्यालयको काम सकिएपछि कम्पनीका फोन र सन्देशको जवाफ दिन बाध्य महसुस गर्नेहरूका लागि राहतको खबर छ।
अष्ट्रेलियामा लागु भएको ‘राइट टु डिस्कनेक्ट’ को नयाँ कानूनले कर्मचारीहरूलाई ड्युटीको समय सकिएपछि कुनै पनि सन्देशलाई बिना डर बेवास्ता गर्ने छुट दिन्छ। पछिल्लो एक सर्वेक्षण अनुसार, अष्ट्रेलियाली कर्मचारीहरूले बिना पारिश्रमिक वर्षमा औसत २८० घण्टा अतिरिक्त काम गर्ने गरेका छन्। यो कानून २० भन्दा बढी देशहरूमा, विशेषगरी युरोप र ल्याटिन अमेरिकामा लागू भइसकेको छ।
यद्यपि, यो कानूनले रोजगारदातालाई ड्युटी समयपछि कर्मचारीहरूलाई सम्पर्क गर्नबाट पूर्ण रूपमा रोक्दैन। तर, यसले कर्मचारीहरूलाई प्रतिक्रिया नदिने अधिकार दिन्छ।
यदि रोजगारदाता र कर्मचारीबीच विवाद उत्पन्न भएमा, अष्ट्रेलियन फेयर वर्क कमिसन (एफडब्ल्युसी) ले हस्तक्षेप गर्न सक्छ। एफडब्ल्युसीले रोजगारदातालाई ड्युटीपछि सम्पर्क बन्द गर्न आदेश दिन सक्छ। तर यदि कर्मचारीले जवाफ नदिनु अनुपयुक्त लाग्यो भने जवाफ दिन आदेश दिन सक्छ। एफडब्ल्युसीको आदेश पालना नगरेमा कर्मचारीलाई १९,००० अष्ट्रेलियन डलर र कम्पनीलाई ९४,००० अष्ट्रेलियन डलरसम्म जरिवाना हुन सक्छ।
कर्मचारीहरूको प्रतिनिधित्व गर्ने संघसंस्थाहरूले यो कानूनको स्वागत गरेका छन्। अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले भनेको छ, ‘यसले कर्मचारीहरूलाई ड्युटी समयपछि गरिने अनुचित सम्पर्कलाई अस्वीकार गर्न र राम्रो काम–व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न सक्षम र सशक्त बनाउनेछ।’
एक कार्यस्थल विशेषज्ञले बीबीसीलाई बताए कि नयाँ नियमले रोजगारदाताहरूलाई पनि मद्दत गर्नेछ। स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका जोन हप्किन्स भन्छन्, ‘जसका कर्मचारीहरू राम्रोसँग आराम गर्छन् र राम्रो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्छन्, उनीहरू बिरामी हुने सम्भावना कम हुन्छ। यसरी कर्मचारीले कम्पनी छोड्ने सम्भावना पनि कम हुन्छ। यसले कर्मचारीहरूलाई पनि फाइदा पुर्याउँछ। रोजगारदाताका लागि पनि फाइदाजनक हुन्छ।’
यद्यपि, कर्मचारीहरूले नयाँ कानूनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन्। विज्ञापन उद्योगमा काम गर्ने राहेल अब्देलनोरले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘मलाई लाग्छ कि यस्तो कानून हुनु महत्त्वपूर्ण छ।’ तर, वित्तीय क्षेत्रमा काम गर्ने डेभिड ब्रेननको तर्क यस्तो छ, ‘मलाई लाग्छ यो राम्रो कुरा हो। आशा छ मानिसहरुलाई मन पर्नेछ। यद्यपि, साँचो भन्नुपर्दा हाम्रो उद्योगमा यो कार्वान्वयन हुन्छ जस्तो लाग्दैन्।’