काठमाडौं- गत साउन ९ गते त्रिभुवन विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । यो दुर्घटनापछि जबरजस्त आजाव उठ्यो त्रिभुवन विमानस्थल परिसरको इन्धन डिपोले राजधानी क्षेत्र नै उच्च जोखिममा । यसैलाई आधारमान्दै प्रधानमन्त्री केपी शर्मा ओलीले इन्धन डिपो सार्न सुधाउँदै विकल्प खोज्न निर्देशन दिए । हुन पनि सौर्य एयरको जहाज इन्धन डिपो भएको क्षेत्रतिर दुर्घटनामा परेको भए के कति क्षति हुन्थ्यो उपत्यकाबासीको आङ नै सिरिङ्ग हुने गरेको छ ।
इन्धन डिपो सार्ने विषय चर्चामै रहँदा आइतबार कै प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा पनि कुरा उठेको छ । तर यस विषयमा सरकारी पक्षले तत्काल डिपो सार्न सम्भव नभएको तर्क गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसुदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको अयाल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताएका छन्।
उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरुको बाध्यता भएको तर्क गरे । तर, प्रधानमन्त्रीको निर्देशनपछि आफूले काठमाडौं उपत्यकाका केही स्थानहरुमा विकल्प खोजिरहेको तथा राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने उनको भनाइ छ ।
यता नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भएपनि जग्गा अभावका कारण सम्भव नभएको बताएका छन् । जग्गा उपलब्ध हुन सकेमा आफूहरुले तुरुन्त काम अगाडी बढाउने उनले बताए । निगमले स्थानान्तरणका लागि बजेट छुट्याएर राखेको भएपनि जग्गा प्राप्ति नहुँदा गर्न नसकिएको उनको भनाइ छ ।
त्रिभुवन विमानस्थल परिसरको हवाई इन्धन डिपोको भण्डारण क्षमता सात हजार ६६० किलोलिटर छ। त्यहाँबाट दैनिक चार सय किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ। यो डिपोमा एक हजार छ सय किलोलिटरका तीन वटा, ७६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताको आठ वटा इन्धन भण्डारण गर्ने भाँडा छन्।
यही साउन ९ गते सौर्य एयरलाइन्सको जहाज विमानस्थलभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो। गोठाटारतर्फको क्षेत्रमा दुर्घटना हुँदा विमानमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको थियो। यसअघि टर्किस विमान अहिले रहेको डिपोनजिकै दुर्घटना भएको थियो। टर्किस एयरलाइन्सको विमान डिपोसँग ठोक्किएको भए ठुलो क्षति हुन सक्थ्यो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्क अनुसार सौर्य एयरलाइन्सको जहाज दुर्घटनासहित हालसम्म त्रिभुवन विमानस्थल परिसरमै पाँच पटक हवाई दुर्घटना भएका छन्। जसमा परी ७२ जनाको ज्यान गएको छ भने २७८ जना घाइते भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै दक्षिणी क्षेत्रमा रहेको सो डिपोका कारण विमानस्थल र पार्किङ गरिएका जहाजसमेत उच्च जोखिममा छन्।
विज्ञका अनुसार डिपोतर्फ जहाज खसेर डिपोमा ठोक्किएको अवस्थामा १० हजारभन्दा बढी सर्वसाधारण दुर्घटनामा पर्न सक्ने जोखिम छ। उपत्यकाबासीका लागि पासोका रुपमा रहेको यो इन्धन डिपोको तत्काल सुरक्षित स्थानान्तरण हुन जरुरी छ ।