काठमाडौं— तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा २७ जना ज्यान गुमाए । भारतीय ७६२३ नम्बरको बसमा उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । बसमा चालक र सहचालक सहित ४३ जना सवार थिए ।

सिमलतामा भएको दुर्घटनासँगै पछिल्लो ४३ दिनमा दुईवटा सडक र दुईवटा हवाई दुर्घटनामा परेर ७४ जनाले ज्यान गुमाएका छन् । असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । 

OM Sai Pathibhara Hospital

साउन ९ मा काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो । विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । साउन २३ मा एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए । 

आबुखैरेनीमा ज्यान गुमाएकाको पोष्टमार्टम चितवनमा

आँबुखैरेनीमा हिजो भएको बस दुर्घटनामा मृत्यु भएका २७ जनाको शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइने बताए । एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ । 

दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव पोखरा लैजाने कि भरतपुर ल्याउने भन्ने कुराको मतभेद हुँदा शव ल्याउन ढिला भएको थियो । दूरीका हिसावले पोखराभन्दा नजिक रहेको भरतपुर अस्पतालमा नै पोष्टमार्टम सजिलै हुने देखिएपछि भरतपुर अस्पताल ल्याइएको अस्पतालका मेसु डा. पौडेलले बताए । 

गएराति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई हिजै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।