गृहमन्त्री रमेश लेखकले भने, ‘हामीले मुलुकमा राजनीतिक स्थिरता दिन सकेनौँ । सरकारको स्थिरता दिन सकिएन । प्रत्येक २/३ महिनामा प्रधानमन्त्रीको विश्वासका माथि प्रश्न उठ्ने । प्रधानमन्त्रीले ३/३ महिनामा संसदमा गएर विश्वासको मत प्रदर्शन गर्नुपर्ने । विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा नयाँ–नयाँ राजनीतिक समीकरणहरु बन्ने । एउटा समीकरण बन्ने । अर्को समीकरण भत्किने । एवम् रितले राजनीतिक रुपले स्थिरता दिन नसकेको स्थिति हामीले व्यहोर्‍यौँ । पछिलो साढे एक वर्षको समयमा । सरकारको अस्थिरताको कारणले त्यसको प्रभाव सबै ठाउँमा पर्न थाल्यो । विकासको क्षेत्रमा पुँजीगत खर्च घटेर गयो । आर्थिक क्षेत्रमा आर्थिक गतिविधिमा शिथिलता आयो । सुशासनको क्षेत्रमा मुलुकमा ठिक ढंगले सुशासन दिन सकिएन । मुलुकलाई विधिको शासनमा ठिक ढंगले अगाडी बढाउने कुरामा केही समस्याहरु देखापरे । राजनीतिक अस्थिरताका कारण उत्पन्न समस्याले मुलुकमा निराशाको अभिव्यक्ति देखापर्‍यो । मुलुक निराशातर्फ जान लागेको अवस्था सिर्जना भयो । त्यो निराशालाई आशामा बदल्नका लागि, राजनीतिक स्थिरताका साथ शिथिल भएको अर्थतन्त्रलाई गतिशिल, चलायमान, क्रियाशिल गर्नका लागि, विकास निर्माणका कामहरुलाई द्रुततापूर्वक अगाडी बढाउनका लागि, भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन स्थापित गर्नका लागि, मुलुकमा शान्ति कायम गर्नका लागि, विधिको शासन स्थापित गर्नका लागि र समग्रमा मुलुकमा विदेशी, देशी सबै खालका लगानीहरुको अनुकुल वातावरण निर्माण गरेर मर्यादित र बढी रोजगारीको सिर्जना गर्ने समेतका उद्देश्यले यो सरकार बनेको हो । संविधान संशोधन गर्ने विषयलाई पनि हामीले एजेण्डा बनाएका छौँ । तर संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि थप राम्रो बनाउनका लागि हो । पछाडी फर्किनका लागि होइन ।’