काठमाण्डौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।
रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ।
मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र डोरो धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडि १९ पला रहेको छ । घण्टा– मिनेटअनुसार आज दिउसो १: ३१ बजेसम्म भद्रा परेकाले भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीत धारण गर्न हुने वा नहुने सम्बन्धमा सर्वसाधारणको चासो उत्तिकै रहेको छ।
धर्मसंस्कृति जानकारहरुले भने राष्ट्र प्रमुख बाहेकका व्यक्तिहरू भद्राको समयमा रक्षाबन्धन यज्ञोपवीतका गर्न रोकिन नपर्ने बताएका छन् । नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डाक्टर बासुदेव खनाल श्रावणशुक्ल पूर्णिमाका दिन ब्रहमुहूर्तमा गरिने श्रवणीस्नानको विशेष महत्व रहेकाले यो दिन स्नान, उपाकर्म नूतन यज्ञोपवीत, ऋषितर्पणी एवं रक्षाबन्धन जस्ता कर्म गर्न भद्राको कारण रोकिन नपर्ने बताउनुछन।
यता नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले राष्ट्र प्रमुख एवम् विशिष्ट व्यक्तिहरूका लागि भने गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पूजादि गर्न हुने तर रक्षा सूत्रमात्र बाँध्न नहुने भन्दै भद्रापछि बाँध्नु उचित हुने बताएको छ ।
‘भद्रायां द्वे न कर्तव्ये श्रावणी फाल्गुनी तथा । श्रावणी नृपतिं हन्ति ग्रामं दहति फाल्गुनी ।” शास्त्रीयवचन उल्लेख गर्दै समितिले भनेको छ । ”भद्रामा श्रावणी सम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ । यहाँ नृपतिको अर्थ राजा, राष्ट्रप्रमुख राज्यसञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने विशिष्ट व्यक्तित्वहरूको बोध हुन्छ ।”
समितिले विज्ञप्तिमा उल्लेख गरेको शास्त्रीयवचन कुन वेद, उपवेद वा पुरणामा उल्लेखित हो ? भन्ने विषय भने स्रोत खुलाएको छैन ।
क्वाँटी खाने र राखी बाँदने चलन
जनैपूर्णिमाका दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ । जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।