काठमाडौं–चितवनस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुईवटा बस खोज्न प्रयोग भएको एउटा १९ किलोको चुम्बक आज त्रिशूलीले बगाएको छ ।

नेपाल–भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास कार्य जारी रहँदा पनि बस र हराइरहेका यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । शनिबार भारतबाट मगाइएको दुईवटा चुम्बकको सहयोगमा खोजी गरिएको थियो ।

OM Sai Pathibhara Hospital

खोजी गर्ने क्रममा १९ किलोको चुम्बक त्रिशूलीले बगाएर बेपत्ता भएको हो । एउटा १९ किलोको चुम्बक हराएकाले अब बस र चुम्बक दुवै खोज्नु परिरहेको छ । त्रिशूलीमा १४ र १९ किलोको दुईवटा चुम्बक प्रयोग गरिएको थियो ।

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नंको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

ती बसमा सवार ६५ जनामध्ये तीनजना सकुशल निस्किएका थिए । २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ । अझै दुई बससँगै ३८ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।  यसबीच अब खोजीकार्य नै बन्द गर्ने तयारी पनि भइरहेको छ ।