काठमाडौं— चितवनको मुग्लिङदेखि मलेखु सडकखण्डको १६ स्थानमा पहिरोको जोखिम रहेको पहिचान गरिएको छ । 

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ४० किलोमिटर क्षेत्रमा १६ स्थानमा पहिरोको जोखिम छ भने चार स्थानमा उच्च जोखिम छ । 

OM Sai Pathibhara Hospital

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले पृथ्वी राजमार्ग अन्तर्गत कार्यालयको क्षेत्रमा कृष्णभिर, घोप्टेभिर, जोगीमारा र फिसलिङ उच्च जोखिम रहेको स्थान भएको जानकारी दिए । 

उनले भने, 'सात वर्षअगाडि र अहिलेको पहिरो जाने अवस्था फेरिएको छ । पुरानो धारबाट बग्ने पानीको बाटो फेरिएको छ, पहाड खोतलिएको छ त्यसको प्रभावले गर्दा गेग्य्रान एकै पटक झर्छ ।'

पहिले पहिरोसँगै लेदो माटो आउने र सडक पुर्ने गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । पृथ्वी राजमार्गमाथिको पहाडमा बिनाअध्ययन पहाड खोतलेर छाड्ने, कुलो निर्माण गर्ने र पानीको प्राकृतिक बहावलाई परिवर्तन गरेर बिगारेका कारण तल सडकमा पहिरो आएको इन्जिनियर आचार्यले बताए । 

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मा गरिएको अध्ययनले पहिरो जाने मूल कारणले माथिल्लो क्षेत्रमा निर्माण गरिएको सडक, कलभर्ट र कुलो भएको निष्कर्ष निकालेको छ । कार्यालयका सूचना अधिकारी आचार्यले सो सडक क्षेत्रमा झरेका पहिरोमा लेदो माटो नभई गेग्य्रान धेरै भएको बताए । 

प्राकृतिक पहिरो अहिले आएको छैन । मानव निर्मित बाटो र त्यसमा खनिएका गेग्य्रान थुप्रेर बस्ने, वर्षा भएपछि एकै पटक झर्ने भएकाले तल क्षति ठुलो हुने गरेको उनले बताए ।  

वर्षा लागेपछि मुग्लिङ–मलेखु सडकखण्डमा गएको पहिरोमा गेग्य्रान मात्र झरेको छ । बर्सातमा पानीले र हिउदँमा आफैँ गेग्य्रान झर्ने गरेको कार्यालयले जनाएको छ । जमिनको प्रयोगमा आएको फेरबदल, सडक सुरक्षाको मापदण्ड नअपनाउने र यो वर्ष एक ठाउँमा देखिएको जोखिम अर्को वर्ष अर्कै ठाउँमा हुने गरेको छ । 

पानी बग्ने स्थान परिवर्तन गरिदिएपछि नयाँ ठाउँबाट पानी झर्न थाल्दा थुप्रेर बसेको गेग्य्रान झर्ने समस्या केही वर्षदेखि हुन थालेको आचार्यले बताए । पहाड खोतलेर छाडेपछि पहिरो झर्छ, घाउ बनाएपछि टाल्नु पर्छ तर पहाड खोतल्ने मर्मत नगर्ने भएपछि कसरी पहिरो रोकिन्छ ? जथाभाबी पहाड खनेका कारण तल पहिरो झरेको उनले बताए । 

कालोपत्रे गर्ने समयमा पहिरो रोकथामका उपायसहित निर्माण कार्यमा लाग्ने छौँ । तलको मूल राजमार्गको सुरक्षाका लागि पहाडको टुप्पामा, मूल सडकमा प्रभाव पार्ने स्थानलगायतका ठाउँमा सडक निर्माण गर्दा ध्यान दिएर सुरक्षाको विधि अपनाएमा सम्भावित जोखिम नहुने उनले बताए । 

डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर सागर कार्कीले सिमलतालको पहिरो जानुको मूल स्रोत माथि ग्रामीण बस्तीको बाटो खन्दा निस्केको गेग्य्रान भएको बताए ।