रुकुम पश्चिम— रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए । घटनामा डिल्ली बहादुर बुढाथोकी बेपत्ता भएका छन् । 

बाढीले घर बगाउँदा घाइते भएका सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिए।  घाइते हुनेहरूमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी छन् । 

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताए । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।