काठमाडौं— पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार दिनभर खोजी गर्दा एक ठाउँमा हुक अड्किए पनि बस या ढुंगो भन्ने पत्ता लाग्न सकेन । दिनभरको प्रयासमा प्रहरीले बसमा लगाइएका पर्दासहितका सामान फेला पारेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । त्यस्तै बसमा सवार केही यात्रुको लुगा पनि भेटिएको छ ।

बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

बस खसेको स्थानमा खोजीका लागि सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । यात्रुको अवस्था अज्ञात नखुलेपछि अँध्यारो भएसँगै खोजी स्थगित भएको प्रहरीले जनाएको छ । शनिबार पनि खोजी जारी राख्ने प्रहरीले जनाएको छ ।