काठमाडौं— आजदेखि नेपालमा वर्षा कम हुने भएको छ । नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने भएकाले वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।

OM Sai Pathibhara Hospital

अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई  स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

मधेस, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

महाशाखाले खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सचेतता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ।