तनहुँ— शुक्लागण्डकी–७ काउरेमा पहिरोले घर पुर्दा शनिवार बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
घरधनी ४० बर्षीय हीरा नेपाली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
रायका अनुसार घरमाथिबाट आएको पहिरामा परि छिमेकी ३७ बर्षकी अनिशा बास्तोला र ६५ बर्षका श्याम अधिकारी अझै बेपत्ता छन् ।
पहिरोमा परि चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षापछि पहिरा खस्ने खतरा बढेपछि हिरा नेपालीको घरको सामान सार्न गएका बेला छिमेकी बास्तोला र अधिकारी समेत पहिरामा परि बेपत्ता भएका हुन् ।
यस्तै ऋषिङ गाउँपालिका– झापुटारमा तनहुँ जलविद्युत आयोजनामा काम गर्ने वर्ष ५० को स्थानीय कृष्ण पुलामी मगरको पहिरोमा परी मृत्यु भएको छ भने लमजुङको सुन्दर बजार नगरपालिका–२ का वर्ष ५१ को सोमलाल श्रेष्ठ घाइते भएका छन्।
त्यसै गरी अविरल वर्षाले गर्दा व्यास नगरपालिका–५ मानुङकोटमा तीन घरमा पहिराले पूर्ण क्षति पुर्याएको छ । दिउँसो पहिरो गएकोले मानवीय क्षति नभएको स्थानीय व्यवसायी चूडामणि दाहालले जानकारी दिए। दाहालका अनुसार पहिराबाट क्षति भएका तीन घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले वर्षाले गर्दा हुन सक्ने क्षति न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् ।






































