काठमाडौं— अहिले देशभर मनसुनको प्रभाव छ । देशभर एकसाथ सक्रिय हुँदा शुक्रबारदेखि पानी परिरहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भीषण वर्षा भएको छ। यसबाहेकका अन्य प्रदेशका केही ठाउँमा पनि भीषण वर्षा भएको छ।
यस अवधिमा पूर्वतिर सिन्धुलीदेखि पश्चिम पहाडमा प्युठान र तराईमा बाँके–बर्दियासम्म भीषण वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घन्टामा सबैभन्दा बढी वर्षा पाल्पाको कुमालगाउँमा ३९० मिलिमिटर मापन भएको छ ।
विभागको तथ्यांकअनुसार पाल्पाको गण्डाकोटमा ३०५, स्याङ्जामा ३०२, दाङको लमहीमा २६७, प्युठानमा २६३ मिलिमिटर वर्षा मापन भएको छ।
लमजुङ र पर्सामा समान १८४, ललितपुर लेलेमा १६८, सिन्धुलीमा १५८, काठमाडौं धापड्याममा १५३ मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसम पूर्वानुमान महाशाखाले गत बिहीबार विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म देशभर वर्षा हुने र त्यसमा पनि पश्चिम नेपालमा भीषण वर्षाको चेतावनी दिएको थियो।
शुक्रबारदेखिको झरी आइतबारसम्म कायमै रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालका अनुसार आइतबार देशका धेरै ठाउँमा मेघ गर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। तर, पश्चिम नेपाल त्यसमा पनि सुदूरपश्चिमा धेरै वर्षाको सम्भावना छ।
त्यसबाहेक गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा अति भारी वर्षाको चेतावनी दिइएको छ। कोशी, बागमतीका र मधेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने देखिएको छ।






































