हेटौडा । हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीका तीनैवटा सडकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् । ललितपुर क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

हेटौंडाबाट मातातीर्थ हुँदै काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध बनेको छ । महालक्ष्मी पुल भन्दा अलि पर पहिरो गएर बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

OM Sai Pathibhara Hospital

हेटौंडा–काठमाडौं जोड्ने सिस्नेरी-दक्षिणकाली सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौंको वैकल्पिक मार्ग सिस्नेरी-दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो।

वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर-२ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठूलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाइ छ।

बाटो सञ्चालन गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्रसरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।