काठमाडौं— आगामी आइतबारसम्म पश्चिम नेपालका जिल्लामा धेरै वर्षा हुने प्रक्षेपण गरिएको छ। 

यसअघि पूर्वी र मध्यनेपालमा धेरै वर्षा भइरहेकामा शुक्रबारदेखि आइतबारसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा तुलनात्मक रूपमा धेरै वर्षाको सम्भावना छ। 

OM Sai Pathibhara Hospital

मौसम पूर्वानुमान महाशाखाले ३० जिल्लामा जोखिमयुक्त क्षेत्रका रूपमा रेडअलर्ट जारी गरेको छ।

कम वर्षा भएका सुदूरपश्चिम र कर्णाली क्षेत्रमा अबको वर्षाले खेतीपातीमा मद्दत पुग्ने भए पनि पहिरोको जोखिम पनि बढाएको छ। 

शुक्रबारदेखि आइतबारसम्म पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमतीका थोरै स्थानमा भीषण (भारी) वर्षाको आकलन गरिएको छ। 

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ।  

आइतबारसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुवानको जोखिम रहेको महाशाखाले जनाएको छ। यसअघि महाशाखाले १७ देखि २० असारसम्मका लागि मनसुनी बुलेटिन जारी गरेको थियो।  

रेडअलर्ट जारी भएका ३० जिल्ला

मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जिल्लामा रेडअलर्ट जारी गरेको छ। गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङ। धेरै वर्षा हुने भएकाले यस क्षेत्रमा पहिरोको जोखिम छ। 

लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व रेडअलर्टमा छन् । 

कर्णाली प्रदेशमा जाजरकोट, दैलेख, रुकुम पश्चिम, कालीकोट, जुम्ला र हुम्लालई रेडअलर्टको सूचीमा राखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेल्धुरा, डोटी र अछाम। यी क्षेत्रमा आगामी आइतबारसम्म धेरै वर्षा हुने भएकाले विपत्को जोखिम पनि बढेको हो।