काठमाडौं— एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया बिहीबार सुरु हुँदैछ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो। 

महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।

OM Sai Pathibhara Hospital

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन्। केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ। अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष माधवकुमार नेपाल र निवर्तमान महासचिव घनश्याम भुसाल दाबेदार छन्। सहमतिको प्रयास पनि जारी रहेको नेताहरूले दाबी गरेका छन्। पदाधिकारीमा सहमति र केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरू बताउँछन्। पदाधिकारीमा सहमति नभए प्यानल प्रतिस्पर्धाको तयारी रहेको एक नेताले जानकारी दिए। 

दस्ताबेजमाथि समूहको निष्कर्ष प्रस्तुत गर्दै समूह नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन्। समूह नेताहरूले अध्यक्ष र महासचिवसहितको पदमा सर्वसम्मत गरेर सम्मानित नेतालाई थप अधिकार दिन सुझाव दिएका छन्। दस्ताबेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको थियो। समूह नेताहरूले नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव दिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए। 

प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन्। प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन्। समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन्। पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन्। 

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ। महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ। सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन्। त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन्। कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन्। यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन्।