काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताएका छन्। 

अध्यक्ष ओलीले भने, 'हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धात्मक आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।'

OM Sai Pathibhara Hospital

मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठुला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ ? भन्ने प्रश्नमा ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको बताए । 

राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै ओलीले भने, 'यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।'

'विनाशकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनः निर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो', उनले विगत पनि स्मरण गरे ।

अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठुला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, 'एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।'

संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भने, 'हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबिच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।' रासस