काठमाडौं— नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार बिहान बसेको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको समझदारी अनुमोदन गर्दै सो निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

'हामी सबैभन्दा ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले सँगै सरकार बनाउने भनेपछि स्वभाविकरुपमा सम्माननीय प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ, गर्न उपयुक्त हुन्छ, यो हाम्रो निर्णयमा आएको छ । अरू दलको समेत समर्थन घोषणा भइरहेको छ,' नेता महतले भने ।

बैठकमा दुई दलबीच पहिलो चोटि एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो निर्वाचनसम्म नेतृत्व गर्ने भन्ने सहमति अनुमोदन भएको उनले बताए । 

'नेपाली कांग्रेस र नेकपा एमालेबिच समझदारी भएको थियो आगामी सहकार्य गरेर जाने, सरकार निर्माण गर्ने सम्बन्धमा त्यसलाई स्वागत र समर्थन गर्‍यो । सँगसँगै दुई दलका नेताहरूबिच पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको त्यो समझदारीको विषयमा सुशासन, समृद्धि, राष्ट्रिय सहमतिको मुद्दामा सहमत दलहरूलाई जोड्ने र जहाँसम्म नेतृत्वको सवाल छ, सुरुमा नेकपा एमालेका अध्यक्ष ओलीजीको नेतृत्वमा सरकार बन्ने र दोस्रो निर्वाचन सम्पन्न नभएसम्म पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने । यो समझदारीलाई केन्द्रीय कार्य सम्पादन समितिले अनुमोदन गरेको छ,' नेता महतले भने ।