काठमाडौं— सत्ता साझेदार दलबीचका केही विपत्तिका आवाज सुनिन थालेपछि शीर्ष नेताको भेटवार्ता बाक्लिएको छ । सत्तारुढ दलकै शीर्ष नेता र विपक्षी दलका नेतासँग सत्तारुढ दलका नेताले छलफल अघि बढाएका छन्। 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

OM Sai Pathibhara Hospital

सत्ता घटक दुई शीर्ष नेताबीच शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा पनि छलफल भएको बुझिएको छ । तर औपचारिक रुपमा भेटको कारण र भएको छलफलको विषय खुलाइएको छैन । 

शनिबार दिउँसो एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यहाँ सत्ता समीकरणको विषयमा पनि छलफल भएको सूचना प्रवाह भएपछि लगत्तै प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । 

प्रमुख प्रतिपक्षी दलका सभापति देउवा, प्रमुख सत्ता साझेदार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीचको बेग्ला बेग्लै बैठकले सबैको ध्यान खिचेको छ ।