काठमाडौं— मनसुनको सक्रियतासँगै देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । 

गुल्मी पहिरोमा पुरिएर ४ जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । मालिका गाउँपालिका-६ कंडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका ४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

OM Sai Pathibhara Hospital

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सीता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर-६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए ।

पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

घटनास्थलमा उद्धारको लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली पुगेका छन् ।

गुल्मीमा शुक्रबार राति अबिरल वर्षा भएको थियो । पहिरोले घर पुरेको शनिबार बिहान मात्रै थाहा भएको थियो ।

स्याङ्जामा आमाछोरीको मृत्यु

स्याङ्जामा पहिरोले घर पुरिंदा आमाछोरीको मृत्यु भएको छ । फेदीखोला गाउँपालिका-५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा २५ मिटर माथिबाट खसेको पहिरो उनीहररुलाई पुरेको प्रहरीले जनाएको छ ।

बागलुङमा दुई जना पुरिए

बाग्लुङ्गको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दुई जना घरसहितको पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उहाँकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले खोजी र उद्वारका लागि प्रहरीको टोली खटिएको छ ।

यसैबीच पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको बाग्लुङ्ग खण्ड अवरुद्ध भएको छ । लगातार पानी परिरहेको र पहिरोले बाग्लुङ्ग खण्ड बन्द भएको हो । त्यस्तै कालीगण्डकी करिडोर र बाग्लुङ्ग–कुश्मीशेरा सडक पनि अवरुद्ध रहेको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।