काठमाडौं— काठमाडौं महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।

कामपाका पूर्वाधार सल्लाहकार सुनील लम्सालले फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडासम्म जाने बाटोको समस्या समाधान भइसकेकाले लामो समयसम्म फोहोर रोकिने समस्या नहुने बताए। 

OM Sai Pathibhara Hospital

‘विगतमा फोहोर व्यवस्थापन गरिँदै आएको स्थान सिसडोलमा पनि विगतको फोहोरलाई (क्यापिङ) माटोले छोपेर मिलाउने काम गरिसकेको र वैकल्पिक बाटोको व्यवस्था गरेकाले यस वर्ष फोहाेर व्यवस्थापनमा समस्या हुँदैन,’ उनले भने।

लम्सालले तीनपिप्लेदेखि सिसडोलम्म केही स्थानमा पहिरो जाने गरेकामा ती स्थानमा पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या नहुने उनको भनाइ छ।

कामपाका कुल ३२ वडामध्ये भित्री नौवटा वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ। हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिकटन फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्छन्।

उपत्यकाका १८ पालिकाको फोहोर दैनिक रूपमा त्यहाँ पुग्ने गरेको छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बन्चरेडाँडामा फोहोरको अन्तिम व्यवस्थापन हुँदै आएको छ। ०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र ०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ। यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्ने हुन्छ।