भद्रपुर  ।  किच्चक बध कोशि प्रदेशको झापा जिल्लाको भद्रपुर नगरपालिकाको वडा नं २ र ३ मा अवस्थित रहेको छ । साविकका दूई पृथ्वीनगर र महेशपुर गाविसको सिमानामा रहेको यो धार्मिक तथा पर्यटकीय क्षेत्र हो।

झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किच्चकबध पर्दछ। महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू छन्। त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी देखिन्छ। त्यसको छेउबाट देवनीया नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ।

OM Sai Pathibhara Hospital

महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० विगाहा क्षेत्रफलमा फैलिएको छ। वरिपरि गहिरो भुभाग रहेको किचकवधको १० बिगाहा मध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालिन गढ जस्तो डाँडाको रूपमा रहेको छ । पुरातत्व विभागको चरण चरणको उत्खननबाट विभिन्न संरचना तथा सामाग्रीहरू पाइएका छन । उत्खनन गरिएका अन्य स्थानहरू पुन: सुरक्षीत रूपमा छोपिए पनि दूई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । पुरातत्व विभागले किच्चकवधमा पाइएका वस्तुहरूको प्रयोगशाला परीक्षणबाट करीब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणीत भएको जानकारी गराइएको छ । 

आज शनिबार लाग्ने महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलाको तयारी पूरा भएको छ ।  हरेक वर्ष माघे शुल्क पूर्णिमा/स्वस्थानी व्रतका दिन किचकबध मेला लाग्दै आएको छ । किचकबधको धार्मिक पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकोले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पुरा हुने धार्मिक विश्वास रहेको छ । 

भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन पनि छ । भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाआर्चना गर्ने गर्छन् । किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउन गरेकाले घुइँचो नै लाग्ने गरेको छ । महाभारतकालीन किंवदन्ती अनुसार विराट राजाका सालो कीचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति कीचकलाई भीमसेनले मुड्क्याएर मारेको किंवदन्ती छ । 

सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको नामकरण गरिएको जनाइएको छ ।