काठमाण्डौ ।    तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मी पूजा परेको छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको छ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो खेल्ने चलन छ ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्ने गरिन्छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिबारदेखि सुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।


लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख गरिएअनुसार पूजा तथा आरती गर्दा गरे लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ। कसरी गर्ने लक्ष्मीको पूजा तथा आरतीरु आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने। आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः


ॐ या श्रीस् स्वयं सुकृतिनां भवनेष्वलक्ष्मीस् पापात्मनां कृतधियां ह्रदयेषु बुद्धिस्।                                    श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास् स्म परिपालय देवि विश्वम्।।                                  ॐ महालक्ष्म्यै नमस्, मंत्रपुष्पांजलिं समर्पयमि।


मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।। यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे। भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।। यसपछि पुनः प्रमाण गरेर ॐ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मीस् प्रसीदतु। भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने। पूजाको विसर्जन चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः यान्तु देवगणास् सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।