काठमाण्डौ । आजदेखि हिन्दुहरुको दोस्रो महान चाड तिहार शुरु भएको छ ।पञ्चाग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ ।
हिन्दु धर्म अनुसार कार्तिक महिना सबैभन्दा शुभ र फलदायक महिना मानिन्छ । यो महिना भगवान विष्णुको महिना हो । यस महिनामा भगवान विष्णु निद्रा अवस्थाबाट जाग्ने परम्परागत मान्यता छ।

भगवान विष्णु निद्राबाट उठेपछि सबै मांगलिक कार्य शुरू गर्ने मान्यता रहँदै आएको छ । तिहारको सुरुवात नै धनतेरसबाट सुरु हुन्छ । काग तिहारको दिन धनतेरस पर्व मनाइन्छ । तिहार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने गरिन्छ । सुरुको दिन काग तिहारकै दिन धनतेरस पर्व मनाउँदै तिहारको सुरुवात गरिन्छ ।
दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ। आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ। विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ।
घरघरमा आजै साँझदेखि उज्याला बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिन्छ।
दीपावली मुख्यतः धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिने पर्व भएको हुँदा पहिलो दिन नै नयाँ वस्तु जोडेर लक्ष्मी खुशी पार्न यो पर्वको परम्परा चलेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन्। मिथिला क्षेत्रमा ‘दिवाली’को पहिलो दिन नै बजारबाट किनेर ल्याइएको धातुका गहना वा भाँडालाई लक्ष्मीको प्रतिमा स्थापित गरिएका ठाउँमा पूजा गरेर यो पर्व विधिवत सुरु गरिने परम्परा छ।
सन्ध्याकालमा दीप प्रज्ज्वलनसँगै धनतेरसको पूजा गरेर ‘दिवाली’ पर्व सुरु गरिन्छ। पर्व विशेषका कारण आज तामा, पित्तल र काँशका भाँडा पसल तथा सुनचाँदीका गहना बनाउने पसलमा ग्राहकको भीडभाड रहन्छ। आज किनिएको सामान शुभफल दिने, टिकाउ र नाफा दिने हुने जनविश्वास छ।
औंशीका दिन माता लक्ष्मीको पूजा गर्दै माता लक्ष्मीलाई आआफ्नो घरमा बास गर भन्दै आव्हान गरिन्छ । मानिसहरूले आफ्नो घरका सदस्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका लागि धन त्रयोदशीका दिन आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न दियो बाल्ने चलन छ । आर्य संस्कृति अनुसार स्वास्थ्यलाई धन सम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा मानिन्छ । त्यसैले धनधान्य र सम्मृद्धिकी देवी माता लक्ष्मीको पूजा तथा उपासनासँगै यमराजको पनि उपासना र पूजा गरिन्छ । तिहार जस्मा ५ दिन मनाइन्छ ।
धनतेरसमा अधिकांश सुनचाँदी, तामा लगायतका पूजा सम्बन्धी सामाग्री खरिद गर्ने भएकाले यस अवधिमा चाँदीको कारोबार उल्लेख्य रुपमा हुने गर्दछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हरेक वर्षको तिहारमा ३ हजार केजीको हाराहारीमा चाँदीको कारोबार हुने गर्छ ।