दमौली I तनहुँको सदरमुकाम दमौलीमा आयोजित दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका क्रममा सिरहाका अविनाश भट्टराईले प्रस्तुत गर्नुभएको कविता हो यो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले शुक्रबार र शनिबार आयोजना गरेको साहित्य सम्मेलनका अवसरमा आयोजित कविता प्रतियोगितामा भट्टराईको उक्त कविता प्रथम बन्न सफल भयो । 

देशभरबाट जम्मा भएका कवि तथा साहित्यकारको जमघटले दमौली दुई दिनसम्म साहित्यमय बन्यो । सम्मेलनमा सहभागी हुन आएका कवि र साहित्यकारले आ–आफ्ना कविता, गजल, मुक्तक प्रस्तुत गरिरहँदा कार्यक्रमस्थल उल्लासमय बनेको थियो । 

OM Sai Pathibhara Hospital

उक्त प्रतियोगितामा सङ्खुवासभाका कवि सिजन श्रेष्ठको कविता ‘पहेँलो नक्सा’ द्वितीय र झापाका कवि केशव भट्टराईको ‘अपेक्षा’ तृतीय भएको छ । रौतहटका कवि मनोज विश्वकर्माको ‘ईश्वर–कल्प’, चितवनका सिर्जन अविरलको ‘गाउँमा आमा’, विराटनगरकी पूजा आराधनाको ‘चौबाटो र जिन्दगी’, तनहुँका प्रकाश रम्घालीको ‘जिन्दगीका फुटेजहरु’, गोरखाका भरतबाबु ढकालको ‘नारी मुक्ति आह्वान’ र सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘माटोको रङ्ग’ शीर्षकका कविता सान्त्वना भएका छन् । 

प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः रू ५५ हजार, रू ४० हजार र रू २५ हजार प्रदान गरिएको छ भने सान्त्वना हुने छ कविलाई जनही रू १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

उक्त पुरस्कार आज आयोजित समापन समारोहमा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले प्रदान गर्नुभयो । साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो । 

कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो । दुई वर्षअगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई उत्कृष्ट घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरु प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो । सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो ।”

भाषा, साहित्य र कलाको संरक्षणका लागि साहित्य सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका सचिव अञ्जु दाहालले बताउनुभयो । “साहित्य सम्मेलनले यहाँको साहित्यिक, धार्मिक, सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ,” उहाँले भन्नुभयो, “देशभरबाट आउनुभएका साहित्यकारको जमघटले व्यासभूमिको प्रचारप्रसारसमेत भएको छ ।”

वरिष्ठ साहित्यकार सरुभक्तले सिर्जनाले अस्तित्वको पहिचान गराउने भएकाले निरन्तर यसमा लाग्न आग्रह गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँ साहित्यको उर्वरभूमि भए पनि अपेक्षित रुपमा विकास हुन नसकेको बताउनुभयो। रासस