बिर्तामोड । संसद भवन अगाडी आत्मदाह गरेर चर्चामा आएका प्रेमप्रसाद आचार्यले आफुले एक करोडको बीमा गरेको भनी गरेको दावी गलत साबित भएको छ । उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिमा ५० लाख रुपैयाँको धनन्जय जीवन बीमा पोलिसी खरिद गरेको खुलेपछि उनको दावी गलत सावित भएको हो ।

आत्मदाह गर्नु अगाडी आफुले बीमा गरेको शाखा कार्यालयमा आत्महत्या पछि मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर उनले सोधेका थिए । आचार्यले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेको सुसाइड नोटमा सन नेपाल लाइफमा बीमा गर्दा बिर्तामोड शाखा कार्यालयका कर्मचारीले आफुलाई जवरजस्ती बीमा गरिदिएको उल्लेख गरेका छन् । उनले जवरजस्ती एक करोडको बीमा गराएर ४/५ लाख रुपैयाँ असुलेको आरोप लगाएका छन् । बीमा पोलिसि फारम भर्दा आवश्यक पर्ने सम्पुणर् कागजाज दिएको र हस्ताक्षर एवं औँठाछाप समेत राजिखुसी गरेका कारण उनलाई बीमा गर्न जवरजस्त नगरिएको प्रस्ट हुन्छ ।

यदि कसैले बीमा पोलिसी खरिद गरेको दुई वर्ष भित्रमा आत्महत्या गर्यो भने उसको परिवारले दाबी नपाउने नियम छ । बीमा दाबी पाउने लोभ तथा प्रलोभनमा परेर वा पारेर हत्या आत्महत्या हुन सक्ने अवस्थालाई मध्यनजर गरेर दुई वर्षको ग्रेस अवधि तोकिएको पाइन्छ । तर आत्मदाह गरेका आचार्यले आफुले आत्महत्या गरे पनि बीमा कम्पनीबाट आफ्नो परिवारले ५० लाख रुपैयाँ पाउने आकलन गरिसकेका थिए । उनले आफ्नो असफलताको कथामा ६० लाख कर्जा रहेको उल्लेख गरेका छन् । यसरी आफ्नो मृत्यु पश्चात बीमा कम्पनीबाट सिधै ४५ देखि ५० लाख रुपैयाँ आउने र सोहिबाट कर्जा असुल हुने उनको अनुमान रहेको देखिन आउछ ।

बीमा आफैमा सुरक्षा कबच हो तर, कहिलेकाँही यहि बीमा मृत्युको कारण बन्न पुग्छ । यस्ता घटना दोहोरिदै गएमा बीमा प्राधिकरणले थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । वास्तविक पिडितको हकमा बीमाले ठुलो राहत प्रदान गर्ला तर यसैलाई आधार मानेर आफ्नो जीवन त्याग्ने अवस्था आउनु पनि राम्रो होइन । आचार्यको हकमा बीमाकै रकम पाउनका लागि आत्मदाह नभएको हुन सक्छ ।

नेपाल बीमा प्राधिकरणले सन नेपाल लाइफलाई यदि नियम अनुसार बीमा पोलिसी बिक्री भएको दुई वर्ष पुरा भएको छ भने दाबी दिदा हुन्छ भन्ने स्वीकृति प्रदान गरिसकेको छ । अहिलेसम्म पनि समाजमा आत्महत्या गरेमा परिवारले मृत्यु दाबी नपाउने भन्ने धारणा थियो । आचार्यको घटना पछि आम मानिसहरुले आत्महत्या पछि पनि मृत्यु दाबी रकम पाइदो रहेछ भन्ने गलत सन्देश प्रवाह भएको छ ।