झापा / आज गाईजात्रा पर्व देशभरका विभिन्न शहरहरूमा मनाइँदैछ ।

गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न हास्यव्यंग्यात्मक प्रदर्शन गर्दै हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गाई जात्रामा गाई या गाईको चित्र अंकित तस्वीर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ ।

OM Sai Pathibhara Hospital

गाईलाई नगर घुमाउनाले १ वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ । हास्यव्यंग्य, नाटक प्रदर्शन तथा लाखे नाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ ।

यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतकका आत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने पुराणमा उल्लेख छ । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्वाँटी, स्याउ, नास्पाती, काँक्रो आदी बाँड्ने गर्छन् ।

आफन्तको मृत्यु भएर सोकमा डुबेका परिवारजनलाई हँसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रुपमा पनि यसलाई लिने गरिन्छ । काठमाडौंका तत्कालीन राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाइजात्राको चलन ल्याएको इतिहास छ ।

ललितपुरको पाटनसँगै अन्य शहर तथा काठमाडौंको बसन्तपुरसहितका स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चासाँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच) नाच देखाउने चलन छ ।