ओखलढुङ्गा / प्रदेश १ को पहाडी जिल्ला ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । 

जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको आलु र बाख्रा जोन कार्यक्रम सञ्चालनमा आएसँगै ओखलढुङ्गा आलु र मासुमा आत्मनिर्भर बन्दैगएको हो । 

OM Sai Pathibhara Hospital

ओखलढुङ्गाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ ।  

सिद्धिचरण नगरपालिकाको वडा नम्बर ५, ६, ७, मोलुङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र खिजिदेम्बा गाउँपालिकाको वडा नं. ६, ७, ८, ९ मा करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जनाएको छ । 

त्यस्तै सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाको वडा नम्बर ८, ९, १० र ११ लाई समेत उक्त कार्यक्रममा समेटिएको छ ।

त्यसैगरी गत वर्षदेखि ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा २, ३, ५, ६, ७, ८ र ९ त्यस्तै सुनकोशी गाउँपालिकाको वडा १, २ र ३, ४ लाई समेटेर बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । 

जिल्लालाई तरकारीका लागि आलु र मासुका लागि खशी बाख्राबाट आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना मार्फत बाख्रा जोन कार्यक्रम लागु गरिएको सो कार्यालयले जनाएको छ ।  

आलु र बाख्रा जोन कार्यक्रम प्रभावकारी बनाउने विषयमा गृहकार्य भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले बताए । 

जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा परियोजनाले सरोकारवालाको सहभागिता गराई हाल सञ्चालित जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको अधिकारीको भनाइ छ ।

यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा भएका कामको समीक्षा समेत गरिएको अधिकारीले बताए । बाख्रा जोन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र कार्यक्रमको क्षेत्र विस्तारका लागि सिफारिस गर्ने निर्णय भएको छ । 

आलु जोन कार्यक्रमलाई आलु सुपरजोन बनाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । परियोजनामार्फत सोलुखुम्बुमा कीवी र स्याउ खेतीका लागि कार्यक्रम लागू गरिएको छ ।