बिर्तामोड / झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा मतदाताले निर्वाचनमा भाग लिन पाउने वातावरणले मात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।  

OM Sai Pathibhara Hospital

नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको  ‘स्थानीय तह निर्वाचन २०७९ : मतदाता शिक्षा र निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा रिजालले सो कुरा बताएका हुन् । 

रिजालले मतदाता शिक्षा तथा  निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउनु पर्ने र सो कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।  

कहिँकतै आचार संहिता उल्लंघन भएको भए खबरदारी गर्न र सम्बन्धित ठाउँमा समयमा नै जानकारी गराउन समेत प्रजिअ रिजालले सञ्चारकर्मीलाई आग्रह गरे । 

कार्यक्रममा बोल्दै अग्रज पत्रकार तथा महासङ्घका पूर्व केन्द्रीय सदस्य लीला बरालले निर्वाचनका बेला जिल्लाका विविध समस्याका मुद्दालाई मिडियाले अझ महत्वका साथ उठान गर्नुपर्ने बताएका छन् । 

बरालले द्वन्द्व, विवाद उत्पन्न हुने खालका विषयवस्तुमा पत्रकारले विशेष ध्यान दिनुपर्ने बताउँदै धार्मिक सहिष्णुता, संस्कृति, जातीयता लगायतका विषयमा सामग्री सम्प्रेषण गर्दा सचेत हुन आग्रह गरे ।

अन्तरक्रियाको विषयमाथि धारणा राख्दै पत्रकार महासंघ झापाका निवर्तमान अध्यक्ष तारामणि सापकोटाले मिडियाको मौनताले निर्वाचन आचारसंहिताको उल्लंघन बढ्नसक्ने भन्दै खबरदारी गर्न आग्रह गरेका छन् । 

सापकोटाले अहिलेको निर्वाचन आचारसंहिता कतिपय विषयमा अव्यवहारिक भएको टिप्पणी समेत गरेका छन् । उनले पत्रकारले सामाजिक सञ्जाल प्रयोग, प्रायोजित सामग्री र राजनीतिबाट निर्देशित पत्रकारिताबाट जोगिनुपर्ने बताए ।

अन्तरक्रियामा दिपीन राई, गणेशमान मुखिया, अम्बिका भण्डारी, ज्ञानेन्द्र निरौला, विनोद पाण्डे, प्रेम आचार्य, पुष्प बराल, डिल्लीराम घोर्साइ, द्रोण अधिकारी लगायत पत्रकारहरूले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले आचारसंहिताका विभिन्न पक्षबारे जानकारी गराएका थिए ।