बिर्तामाेड / सत्ता र शक्तिको आडमा सुरक्षा सङ्गठनलाई समेत हातमा लिएर जेलमा बसेका खुङ्खार अपराधी भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउने चलखेल भइरहेको छ । 

राजनीति दबावका कारण अन्डरवर्ल्ड डन सुनिल सिंह र धिरेन्द्र यादवको गिरोहका लागूऔषध कारोबारी भारतीय नागरिक सिंहलाई जोगाउन चलखेल भइरहको हो । 

OM Sai Pathibhara Hospital

२०७७ साल मङ्सिर १९ गते सुनसरीको धरानबाट ७७ ग्राम खैरो हिरोइन सहित पक्राउ परेका सिंहमाथि सप्तरी प्रहरीले दोहोरो नागरिकता लिएको प्रमाण संकलन गरेर छानबिन गर्न आलटाल गरिरहेको छ । 

सिंह भारतीय नागरिक भएको भारतीय प्रहरीले नै पुष्टि गर्दा समेत नागरिकताका सम्बन्धमा सप्तरी प्रहरीले छानविन नगर्नुले उनलाई जोगाउने षड्यन्त्र भइरहेको बुझ्न सकिन्छ । 

धरानबाट खैरो हेरोइनसहित पक्राउ परेका सिंहमाथि दोहोरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेर अनुसन्धान गरी मुद्दा चलाउन असार १३ गते नै सुनसरी जिल्ला अदालतबाट बयानको लागि सप्तरी लान अनुमति लिएको थियो । 

अनुमति लिएको एघार महिना बितिसक्दा समेत प्रहरीले सिङलाई नागरिकता सम्बन्धी मुद्दा चलाउन बयानको लागि सप्तरी लान सकेको छैन । 

प्रहरी स्रोतका अनुसार दोहोरो नागरिकता मुद्दा चले सिङलाई विदेशी नागरिक सरह लागूऔषधमा बढी कारवाही हुने र तत्काल धरौटीमा रिहा नहुने भएकाले राजनीतिक दबाब दिएर नागरिकताको मुद्दा चलाउन नदिएको बताइएको छ । 

पक्राउ परेका सिंह लागूऔषधको ठुलो गिरोहका सदस्य भएकाले उनी दोषी साबित भएको अवस्थामा गिरोहका अन्य व्यक्तिको बारेमा समेत खुल्ने डरले छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबाव रहेको स्रोतको दाबी छ ।

सिंह सप्तरीको तत्कालीन पकरी गाविस –२ निवासी भनिए पनि उनको नेपाली नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको थियो । 

सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परिसकेको समेत पाइएको छ । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रवेश गरेको बताइएको छ । 

यसअघि कुख्यात बंगलादेशी आतंकी सुव्रत बेन, भारतीय अपराधी धीरेन्द्र यादव, सुभास झा, बमबम यादव लगायतकाहरू यसरी नै नेपालमा पक्राउ परेका थिए ।

२०७३ साउन २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट समातिएका भारतीय नागरिक रईस मियाँसँग मोहम्मद मुस्तकिमको नाममा नेपाली राहदानी फेला परेको थियो । मियामाथि सप्तरी र सुनसरी गरी सात जनाको हत्यामा संलग्न रहेको आरोप छ ।

अनुसन्धान गर्दै जाँदा अभियुक्तको साथबाट तीन थान छुट्टाछुट्टै राहदानीहरू फेला परेको थियो । ती राहदानीहरूमा सप्तरी, सुनसरी र सिराहा जिल्लाको ठेगाना रहेको प्रहरी स्रोतको दावी छ ।

कुनै वेला इन्टरपोलबाट रेड कर्नर नोटिस जारी रहेका बंगलादेशी आतंकी सुब्रत बेनले नेपालमा असरफ अलि अन्सारीको नामबाट नागरिकता र राहदानी लिएका थिए । सुनसरीको सिमरिया –५ बाट नेपाली नागरिकता लिएका बेन बंगलादेशका ‘कुख्यात’ अपराधी हुन् ।

सन् २००८ मा बंगलादेश सरकारले भारत सरकारलाई बुझाएको आफ्नो मुलुकका २३ कुख्यातहरूको सूचीमा वेनको नामसमेत रहेको थियो । बेनमाथि हत्या हिंसाका दर्जनौ मुद्दा रहेको छ ।

सन् २००५ मा बंगलादेशको ढाकास्थित बंगबन्धु एभेन्यूमा आयोजित एक र्यालीमा ग्रिनेड हमला गरेको आरोपमा बंगलादेशका सुरक्षा निकायले बेनलाई मस्टवाण्टेड सूचिमा राखेका थिए ।

बेन झुम्का कारागार तोडेर गरेर फरार भएको एक महिना पनि नबित्दै भारतको कलकत्तामा फक्राउ परेका थिए ।

बेनसँगै झुम्का जेलबाट भाग्न सफल भएका भारतीय कुख्यात अपराधी धिरेन्द्र यादव सप्तरी र सुनसरीको छुट्टाछुट्टै दुई गाविसबाट फरक–फरक नाममा नेपाली नागरिकता लिएको पाइएको थियो । 

भारतको बिहार राज्यअन्तर्गत पर्ने सुपोल जिल्लाको चिकनीपट्टी निवासी यादवले १२ फागुन २०६७ मा खटिएको नागरिकता टोलीबाट सप्तरीको वभनगामा कट्टी गाविस –२ र सुनसरीको पश्चिम कुशाहा गाविस–१ बाट गरी दुईवटा नेपाली नागरिकता लिएका थिए । 

धीरेन्द्रमाथि फरबीसगञ्जको गोल्छा हत्या काण्ड, राघोपुरको विपिन चौधरी हत्या काण्डलगायत २३ वटा आपराधिक मुद्दाहरू भारतमा रहेका छन् ।

नेपालमा भने कृषि विकास बैंक राजविराजका तत्कालीन प्रबन्धक विक्रमप्रसाद साहको हत्या तथा ३० लाख लुटपाट गरेको आरोपमा उनी जेल चलान भएका थिए । सन् २००८ मा नेपाल प्रहरीले सुनसरीको इटहरीस्थित रोयल रिसोर्टबाट धीरेन्द्रलाई पक्राउ गरेको थियो ।

हत्या, अपहरण, लुटपाल, फिरौतिलगायतका मुद्दामा भारतीय प्रहरीको दवाब थेग्न नसकेर नेपाल छिरेका उनी सुनसरीको हरिपुर गाविसबाट हरिशचन्द्र झाको नाममा नेपाली नागरिकता बनाएका थिए । 

नक्कली नागरिकताकै मुद्दामा झुम्का कारागारमा रहेका झा,  सुब्रत बेन, धिरेन्द्र यादवसँग भाग्न सफल भएका थिए । झाले दिनेश झाको नाममा समेत नेपाली नागरिकता लिएको आरोप छ । यद्यपि उक्त तथ्यबारे खासै खुल्न सकेको छैन ।

त्यस्तै भारत बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत पर्ने त्रिवेणीगंजका वासिन्दा बमबम यादवमाथि हत्या, अपरहण, लुटपाटलगायतका १७ वटा मुद्दा भारतमा मात्रै रहेका छन् । उनी धीरेन्द्र यादवका निकटस्थ मानिन्छन् । झुम्का कारागारबाट भाग्नेहरूमध्ये उनी पनि एक हुन् । उनीसँग पनि नेपाली नागरिकता रहेको थियाे  ।