झापा / बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिए । सुर्माबाट धनगढीतर्फ गइरहेको सु प प्र०१-००१च ००९५ नं को जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै शनिबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते हुनेहरुमा जयपृथ्वी नगरपालिका-११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका-२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जिपमा तीन महिला र छ पुरुष गरि नौ जना सवार थिए ।