झापा / कञ्चनपुरको वेदकोट नगरपालिकामा एक महिलाको शंकास्पद अवस्थामा प्रहरीले शव फेला पारेको छ । फेला परेको उक्त शव वेदकोट नगरपालिका-७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार घटना शंकास्पद भएकाले ७ जना मानिसलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेहरुमा भीमदत्त नगरपालिका-७ बस्ने धामीझाँक्री धर्मानन्द भट्ट र भीमदत्त नगरपालिका–१ बस्ने नारायणदत्त भट्ट सहित ७ जना रहेका छन् । बाँकी ५ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । डीएसपी शाहले दिएको जानकारी अनुसार उनकै नातेदार पर्ने स्थानीय कमला साउदको घरको आगनमा मृत्यु भएको अवस्थामा रन्चुलाको शव फेला परेको थियो । धामीझाँक्रीहरूले झारफुक गर्ने क्रममा कुटपिट गरी महिलाको हत्या भएको स्थानीयको आरोपमा रहेको छ ।
महिलाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । स्थानीयले घटना शनिबार साँझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुसन्धानपछि मात्र थाहा हुने डीएसपी शाहले बताए ।