बाँके / जिल्ला अदालत बाँकेले अन्तरजातीय प्रेम विवाह गर्ने जोडीलाई सँगै बस्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयलाई आदेश दिएको छ ।

अन्तरजातीय विवाह गरेका अमन सिंह विरुद्ध परेको मुद्दाको फैसाला गर्दै बाँके जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलले यस्तो आदेश दिएका हुन् ।

OM Sai Pathibhara Hospital

बाँके घर भएकी अञ्जली शर्मा र अमन सिंह नेपालीले भागी विवाह गरेका थिए । शर्माकी आमा विद्या शर्माले नेपालीले आफ्नी छोरी बेपत्ता पारेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । 

सोही जाहेरीको आधारमा प्रहरीले अमन सिंहलाई पक्राउ गरेको थियो भने शर्मालाई साथी भन्ने एउटा संस्थामा राखेको थियो । 

प्रहरीद्वारा पक्राउ परेका नेपालीलाई व्यक्ति बेपत्ता पारेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको थियो । 

सोही मुद्दाको फैसला गर्दै पौडेलको इजलासले ऐतिहासिक आदेश दिएको हो । 

अदालतको फैसला आएसँगै आदेश कार्यान्वयन भइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी (डीएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । 

‘उहाँलाई हिजै छाडिएको छ । सम्मानित अदालतको आदेश अनुसार भइसकेको छ’ उनले भने, ‘अन्य बाँकी भए त्यो पनि कार्यान्वयन हुन्छ । सबै डाटा हेर्न पाएको छैन ।’