झापा / प्रदेश १ मा चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा बलात्कारका दुई सय ८४ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्षको साउन देखि फागुन सम्ममा दुई सय ८४ वटा मुद्दा दर्ता भएका हुन् । 

गत फाल्गुण ३० गते मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भयो । १८ महिनाकी नाबालिकालाई स्थानीय मिथुन चौधरी र अजय चौधरीले सामूहिक बलात्कारपछि हत्या गरेको थिए । 

OM Sai Pathibhara Hospital

त्यसको ठीक १७ दिनअघि अर्थात् फागुन १३ गते मोरङको लेटाङ नगरपालिका –८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भयो ।

स्कूलबाट घर फर्किने क्रममा हराएकी करुणाको भोलिपल्ट लेटाङ ८ लालहीरा सामुदायिक वनको केराको झ्याङ भित्र मृतावस्थामा भेटिएको थियो । हत्यामा संलग्न ६३ वर्षीया दीपक गिरी पक्राउ परे ।

यी त गएको फागुन महिनामा मात्र मोरङ जिल्लामा भएका बलात्कारपछि हत्या अपराधका दुई उदाहरण हुन् । प्रदेश १ मा पछिल्लो समय यसप्रकारका घटना बढिरहेको छ ।
१ नम्बर प्रदेश प्रहरीको तथ्याङ्कका अनुसार १० वर्ष मुनिका र ६० वर्षभन्दा माथिका पुरुष पनि यस्ता अपराधमा संलग्न भएको देखिएको छ । १९ देखि २५ वर्ष उमेर समूहका पुरुष यस्ता अपराधमा बढी संलग्न भएको तथ्यांक छ ।

मुलुकी संहिताले १० वर्षभन्दा मुनिका र ७० वर्षभन्दा माथिकालाई बलात्कार गरेमा जन्मकैद हुने व्यवस्था छ । १० देखि १४ वर्षसम्मका लाई करणी गरेमा २० वर्षसम्म कैद, १४ देखि १६ वर्ष सम्मकालाई करणी गरेमा १२ देखि १४ वर्षसम्मको कैद हुने कानूनी व्यवस्था छ । 

तर पनि यस्ता अपराधमा कमी आउनुको सट्टा बढ्दै गएकाले सामाजिक सचेतनासँगै कानून कार्यान्वयनमा चुकेको देखिएको महिला अधिकारकर्मी मञ्जिता उपाध्याय बताउँछिन् ।

उपाध्याय भन्छिन्, ‘नाबालिग र वृद्धा पनि यौनजन्य हिंसाको सिकार भैरहेका छन् । समाजले चरित्रमाथि उठाउने प्रश्नका कारण कतिपय घटना कानूनी प्रकियामै पुग्दैनन् । पुगी हाले पनि राजनीतिक सामाजिक प्रभावमा परेर पीडितले कमै मात्र न्याय पाउने गरेका छन् ।’