खोटाङ / सामुदायिक वनमा लागेको डढेलोले खोटाङको खोटेहाङ गाउँपालिका –४ बड्कादियालेका एक घर र मतान जलेको छ ।
ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा शुक्रबार भिमबहादुर कार्कीको घर र अर्जुन तामाङको मतान जलेको हो ।
कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा एक लाख रुपैयाँ र तामाङको ढुङ्गामाटोले बनेको फुसको छानो भएको मतान जल्दा करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
यस्तै, अगेनाबाट सल्किएको आगोले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –४ खाल्लेका रत्नबहादुर श्रेष्ठको घर जलेको छ । श्रेष्ठको दुई तले घर जल्दा अन्दाजी १ लाख ७० हजार रुपैयाँ बराबरको क्ष्ति भएको छ ।
गाईवस्तुका लागि खोले पकाउन बालेको आगोले बराहपोखरी गाउँपालिका –५ पौवासेराका प्रदीप राईको मतान र १५ वटा बाख्रा जलेका छन् ।
बाख्राको खोर र डेराका रुपमा प्रयोग भइरहेको बाँसको टाँटीले बारेको जस्ताको छाना हालिएको मतान र बाख्रा जल्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए ।