काठमाडाैँ / भिजिट भिसाको नाममा संयुक्त अरब एमिरेट्सको दुबई पुगेका १९ जना नेपालीले कैदी जीवन बिताइरहेका छन् ।
कोमलराज उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज प्रा.ली मार्फत भिजिट भिसामा दुबई पुगेका १९ जनाले जेल जीवन बिताएका देविलाल विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार जेल पर्नेमा सुरेन्द्र तामाङ, मित्र छन्तेल, शिव विक, राज कुमार थारू, प्रशुराम बतार, शोभन सिंह राई, हरेन्द्र राई, अभिषेक परियार, सुरेश विष्ट, रोहित विष्ट, मेघराज गिरी, शेरबहादुर डांगी, अजित केसी, नगेन्द्र प्रसाद न्यौपाने, राजकुमार गौतम, सरोज कटवाल, शिव पौडेल, असलमान तामाङ, प्रताप मल्ल रहेका छन् ।
उनीहरूसँगै ५३ दिन जेल बसेर आफूचाँहि एउटा चप्पल र टिसर्टको भरमा नेपाल फकिएको विश्वकर्माले बताए ।
एक वर्ष अघि राजन ठकुरी र उपाध्यायको मिलेमतोमा भिजिट भिसाको नाममा ८० जनाभन्दा बढी नेपालीहरूलाई आकर्षक तलब दिन्छु भन्दै दुबई पुर्याएका थिए ।
भिजिट भिसाका नाममा नेपालीहरूलाई ठगेको कुरा सञ्चारमाध्यममा आएपछि उपाध्यायलाई गैरआवासीय नेपाली संघ युएईको सहयोगमा प्रहरीले पक्राउ परेका थिए ।
उपाध्यायकी श्रीमती रञ्जना ढकाल प्याकुरेल समेत नेपाल प्रहरीको खोजी सुचीमा छिन् ।