बिर्तामोड / झापाका सात सय ७७ मतदान केन्द्र र २८६ मतदान स्थल मध्ये ५१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेका छन् । 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका ५१ मतदानस्थल अति संवेदनशील, १५३ संवेदनशील र ८२ वटा सामान्य रहेको जिल्ला सुरक्षा समिति झापाले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदानस्थललाई ३ तहमा वर्गीकरण गरेको थियो । सोही अनुरूप मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

झापा पछि सबै भन्दा बढी अति संवेदनशील मतदान स्थल रहेको जिल्लामा मोरङ रहेको छ । मोरङमा ८२० वटा मतदान केन्द्र र ३ सय वटा मतदानस्थल रहेका छन् । जसमा ४९ वटा मतदानस्थल अति संवेदनशील छन् भने ९६ वटा सामान्य रहेका छन् । 

खासगरी भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदानस्थल सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेर सुरक्षा निकायले जनाएको छ । 

सुरक्षा निकायका अनुसार स्थानीय तह निर्वाचनमा अति संवेदनशील मतदानस्थलमा ३ जना प्रहरी र ८ जना म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । 

मतदान केन्द्र (मतपेटिका) थप भएमा प्रति मतदान केन्द्र थप १ प्रहरी र २ जना म्यादी परिचालन गर्ने निर्णय गरिएको बताइएको छ । 

सामान्य मतदानस्थलमा ३ प्रहरी र ५ म्यादी, संवेदनशील मतदान स्थलमा ३ प्रहरी र ६ म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । यसबाहेक रिजर्भ टिम, मोबाइल गस्ती लगायतमा पनि प्रहरी परिचालन हुनेछ ।

निर्वाचनमा प्रहरीले ड्रोनको प्रयोग गरेर वस्तुस्थितिको निरीक्षण गर्ने जनाइएको छ । मतगणनास्थलको सुरक्षाका साथै इजाजतपत्र प्राप्त निजी हतियार निर्वाचन अवधिभर सुरक्षित राख्ने जिम्मा पनि प्रहरीलाई दिइएको छ ।​