विराटनगर / बिहीबार मोरङको बेलबारीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक भए लगतै अर्को पनि हत्याको घटना सार्वाजनिक भएको छ ।
मोरङको जहदा गाउँपालिका –७ का ३३ वर्षीय नारायण सोरेनले रक्सी खाएर कुटपिट गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको हो ।
सोरेनले श्रीमती ३२ वर्षीया पानो टुडुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
चैत २९ गते सोरेनले रक्सी खाएर श्रीमतीलाई निर्घात कुटपिट गरी घाइते बनाएका थिए । सोरेनको कुटाइबाट घाइते भएकी टुडुको विराटनगरस्थित कोसी अस्पतालमा उपचारको क्रममा बिहीबार राती ११ बजेतिर मृत्यु भएको हो ।
हत्यामा संलग्न सोरेन भने फरार रहेका सोरेनको खोजी तीव्र पारिएको डीएसपी श्रेष्ठले बताए ।
बिहीबार बिहान मोरङको बेलबारी नगरपालिका –७ का ३१ वर्षीय बासुदेव कार्कीले घरको आँगनमा पछारेर बुवा ६२ वर्षीय जयबहादुर कार्कीको हत्या गरेका थिए। उनले जग्गा अंशवण्डा सम्बन्धी विवादका क्रममा बाबुको हत्या गरेको प्रहरी भनाइ छ।